समाचारबुधबार, कार्तिक ४, २०७२
रुपन्देहीको बेलहिया नाका फेरि बन्द

फाइल तस्वीर
रुपन्देहीको बेलहियामा दुई जना भारतीय नागरिक माथि कुटपिट भएपछि नेपाल भारत सीमानाका बेलहिया-सुनौली एसएसबीले बिहानैदेखि बन्द गराएको छ ।
बेलहियाको शेरे पञ्जाब होटलमा मदिरा सेवन गरिरहेका भारतीय नागरिक अजय सिंह राजकोट र कृष्ण मुरारी मधेशीयासँग बेलहियाका सचिन थैव, सुनील रानाको झगडा भई कुटपिट भएपछि भारतीय पक्षले नाका बन्द गराएको हो ।
कुटपिटबाट भारतीय नागरिक घाइते भएपछि ३ कात्तिक रातिदेखि नै असहज बनेको बेलहिया नाकामा भारतीय पक्षले अहिलेसम्म कुनै पनि गाडी नेपाल प्रवेश गर्न दिएको छैन ।
घाइते राजकोटको चिउडोमा चोट लोगेको छ भने मधेशीयाको हातमा सामान्य चोट लागेको र उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भारतीय पक्षले नेपालतर्फ मालबहाक तथा सवारीसाधन आउन रोक लगाएपछि बेलहिया नाकाबाट भारतबाट रोजगारी गरी फर्कने नेपाली मात्रै आएका छन् ।
३ कात्तिक साँझको उक्त घटना पछि दुवै देशका सुरक्षा अधिकारीले बेलहिया नाकामा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
नेपालका तर्फबाट पनि बेलहिया नाकामा यसअघिभन्दा केही बढी सुरक्षाकर्मी खटाएको रुपन्देही प्रहरीले जनाएको छ ।
भारतीय पक्षले मालबहाक तथा सवारीसाधन नेपाल आउन रोक लगाएपछि नेपालबाट भारततर्फ गाडी जानमा पनि रोक लगाइएको छ ।
कुटपिट गर्ने फरार रहेको र खोजी कार्य जारी राखेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
