अन्तर्वार्ता/विचारबुधबार, कार्तिक ४, २०७२
सद्भावको सम्बल
पोहोरसाल दशैंको हिमाल मा लेखेको थिएँ– नातागोताको सञ्जाल र सानो कृषिप्रणाली नै नेपाललाई भत्किन नदिने दुई कुरा हुन्। अहिले थप्छु– नरमपन, लचिलोपन र हँसिलोपन हामी नेपालीको अनमोल सम्बल हुन्।
कुख्यात टीकापुरकाण्ड ७ भदौको भोलिपल्ट हामी ललितपुर झ्म्सिखेलमा हिंड्दै थियौं। कुनै सामान्य औषधि चाहियो र नजिकको औषधि पसलमा छिर्यौं। पसलमा पश्चिमा थारू लवजमा नेपाली बोल्ने युवक रहेछन्। “तपाईंको घर कहाँ?” मैले सोधें। उनले ‘कैलाली’ मात्र भनेको भए पनि हुन्थ्यो, तर भने, ‘टीकापुर!’
त्यो सुनेर मेरो मनमा धेरै कुरा एकसाथ आए, जुन म तल लेख्न कोशिश गर्नेछु। त्यसवेला मैले उनलाई फेरि सोधें, “घरतिर सब बेसै छ?”
उनले जवाफ दिए, “मेरो घरमा त ठीकै छ।”
“ल भाइ, सधैं राम्रो होस्, सबैतिर राम्रो होस्!”
त्यति भनेर हामी बाहिरियौं।
हामी साम्प्रदायिक छैनौं
हामी नेपाली अरू जे पनि हौंला, तर साम्प्रदायिक छैनौं। म ‘बाहुन’ ले यसो भन्दा कसैले ‘खुकुरीको चोट अचानोलाई थाहा हुन्छ’ भन्न सक्छ।
‘नेपालमा कहिल्यै पनि सद्भावना थिएन, हामीले सहेका मात्र थियौं’ भनेर भर्खरै केही मधेशी बुद्धिजीवीले लेखेका पनि हुन्। तर पनि मलाई ‘हामी नेपाली साम्प्रदायिक छैनौं’ भन्न आँट आउने केही कारण छन्।
साम्प्रदायिक भनेको– जाति, धर्म, क्षेत्र आदिका आधारमा मान्छेको मूल्याङ्कन गर्ने मानसिकता हो। कुनै एउटा जात, जाति, धर्म वा क्षेत्रको व्यक्तिले कुनै राम्रो काम गर्यो भने त्यसको जस सम्प्रदायले लिनु र नकाम गर्यो वा भयो भने त्यसको अपजस पनि पूरै समुदायलाई दिनु साम्प्रदायिकता हो।
यसको उदाहरण खोज्न टाढा गइरहनु पर्दैन, छिमेकमै प्रशस्त पाइन्छ।
भारतमा इन्दिरा गान्धीको हत्या शिख अंगरक्षकले गरेको भन्ने सार्वजनिक हुने बित्तिकै दिल्लीलगायतका शहरहरूमा जताततै शिख समुदायमाथि आक्रमण शुरू भए। इन्दिरा गान्धीलाई मार्ने शिख सैनिक र बाहिर रहेका अरू शिखहरू बिल्कुलै फरक हुन् भन्ने सबैलाई थाहा थियो, तर मान्छेको विवेकले काम गरेन।
विवेक हुनेहरूको स्वरमा शक्ति रहेन। १९८४ अक्टोबर ३१, नोभेम्बर १, २, र ३ मा चलेको त्यो दंगामा करीब साढे आठ हजार शिख मारिए। निर्दोष मानिसहरूलाई दोषी देखियो। अघिल्लो दिनसम्म एउटै हारमा उभिएर ‘जन गण मन…’ गाएका शिखहरूले उनीहरूको आदिभूमिमा मारिनु पर्यो, अत्याचारमा पर्नु पर्यो, जीवनभरको लागि अपमानित हुनुपर्यो।
मेरो साथी गुरविन्दरसिंह अझै पनि त्यो दङ्गाको वर्णन मन पग्लिने गरी गर्छ। ऊ देहरादुनमा जन्मेको भारतीय नागरिक हो, तर त्यस दङ्गापछि भारतप्रति उसको मनमा एउटा नजानिंदो दचक छ।
दङ्गामा ज्यान जोगाएर नेपाल छिरेपछि उसलाई उता गएर गरिखाने आँटै आएन। उसले नेपालमै खूब संघर्ष गर्यो, नेपाली शिख परिवारकै ज्वाईं बन्यो। “साम्प्रदायिकता भनेको के हो, मलाई थाहा छ”, आफ्नो अनुभवका आधारमा ऊ भन्छ, “नेपाल साम्प्रदायिक मुलुक हुँदै होइन।”
३१ वर्ष अगाडिको दिल्ली उसका मनबाट गएको छैन। बिहानको करीब १० बजेको थियो, गुरविन्दर कनाट प्लेसमा दूध र जिलेबी खाँदैथियो। उसले खाई नसक्दै पसलेले ढोका लगायो र भन्यो, “तिमी भाग बाबू, मान्छेहरूले भेटे भने मार्छन्।”
२० वर्षको गुरविन्दरले केही बुझेन, र पनि भाग्न थाल्यो। परबाट भीड आउँदै गरेको देखेर ऊ एउटा घरभित्र पस्यो। त्यो मुसलमानको घर थियो। त्यहाँ ऊ जस्तै अरू दुई जना शिख केटा लुकेका थिए।
दोस्रो दिन बाहिर अलि साम्य भएको अनुमान गरेर हेर्न निस्किएको तीमध्येको एउटा केटोलाई भीडले समात्यो र त्यही घर अगाडि जलाइदियो। ‘एन्टी शिख रायट’ नाम पाएको त्यो दंगा पछि आतंकित मन र थकित तन घिसार्दै ऊ भैरहवा आइपुग्यो।
दिल्लीमा भएजति चिनजान र आफन्त गुहार्दा छोरो नभेटिएपछि त्यतिका शिख मारिएका घटनामा छोराबारे पनि अनिष्ट चिताउँदै भाग्नु बाहेक अरू उपाय नभएका उनका बाबुआमा भैरहवामा रहेका दाजुको घरमा आएका थिए।
“सन् ८४ को दङ्गाले हामीलाई थिलथिलो पार्यो र त्यसै चोटबाट निस्कियो मानवीय पीडामा मल्हम लगाउने उद्देश्यले ‘खालसा एड’ अर्थात् शिख सहायता कोष, जसले नेपालमा भुईंचालो आउँदा पनि निकै सहयोग गरेको थियो”, गुरविन्दर पुरानो चोटमा नयाँ प्रयत्नहरूको मल्हम लगाउन खोज्छ।
भारतमा कहिलेकाहीं त एकै वर्ष अनेक पटक समुदायहरूबीच दङ्गा फसाद भएको पाइन्छ। त्यही भारतले तीनतिरबाट घेरिएको हामीकहाँ त्यस्तो किन छैन? भारतीय समाजहरूले हामीबाट सिक्न सक्ने कुरा के–के छन्? समाजशास्त्रीहरूले पर्गेल्लान्।
अहिलेलाई हामीले जानेको कुरा, नेपालमा साम्प्रदायिक सद्भाव दक्षिणएशियाका मुलुकहरूमध्येमा सबभन्दा राम्रो छ। अनि यहीं शङ्का गर्ने एउटा ठाउँ निस्किन्छ– हाम्रो यो सम्बल तोड्न कसैले प्रयास गरेको त छैन?
हामी असल छौं त?
हामी निश्चय नै असल छौं। यो हाम्रो दाबी मात्र होइन, संसारले मानेको कुरा हो। तर हामी समस्यामुक्त भने छैनौं। हामीले आफ्नो ‘असलपन’ लाई आधुनिक संसार सुहाउँदो बनाउन ढिलो भइरहेको छ।
हाम्रो मूल समस्या पछौटेपन र अशिक्षा हो। जब मान्छेसित अरू पहिचान हुँदैनन्, उसको आफ्नो र अर्काको चिनारी कि त उसका भौतिक सम्पत्ति, स्वरूप, जात वा त्यस्तै अरू हुन थाल्छन्। अधिकांश अवस्थामा यस्ता पहिचान कसैको मूल्याङ्कन गर्ने (जजमेन्टल) वा हियाउनेखाले हुन्छन्।
धनी वा प्रभावशाली व्यक्तिले राम्रो नाम पाउँछ, गरीब र असहायले नराम्रो। कोही तीनतले, डाँडाघरे, खोले, घट्टे, चौतारे, पुछारघरे, जोरघरे भनेर चिनिन्छन्, कोही लुरे बाहुन, मोटे कार्की, डल्ले नेवार जस्ता जात जोडिएका विशेषणबाट।
म सानैदेखि ‘बाहुन काठा लपलपे, पानीको धारा तपतपे’ सुनेरै हुर्केको हुँ। मौका पर्दा ‘राई फाक्से किरुवा, अलैंचीको बिरुवा’ भनियो होला वा राई समेतसित मिलेर ‘भोटे टोप्रे गाई खरानी, भोटेका टाउकामा तातो खरानी’ भनियो होला।
सामाजिक रूपले सही वा ‘पोलिटिकल्ली करेक्ट’ हुनुपर्छ भन्ने चेत त्यसवेला शिक्षक–अभिभावकमा पनि ज्यादै कम थियो। काठमाडौंमा काँठे, खत्री, नेवार, ज्यापू, सदरिया बाहुन सबैलाई उडाउने कथा र तुक्काहरू थिए।
बाहुनलाई काठा, छेत्रीलाई खसेत्रा, नेवारलाई ठाउँ अनुसार पाटे (सम्भवतः पाटनबाट आएकाले) वा पाडा, मगरलाई लिंडा, थारूलाई मुसा– हामीले आफ्नो पछौटेपनको सङ्केत दिंदै होच्याएर नबोलेको कसैसित छैन। तर त्यस्ता कुराले आजसम्म कसैको मन चर्केको थाहा छैन।
अझ् बाहुनहरूका बीचमा त एउटा थरले अर्को थरलाई उडाउने चलन धेरै छ– ‘अधिकारी पधिकारी पादको भारी, तीनसय जन्तीलाई भोकले मारी’, ‘दाहाल पाडा खुट्टा ठाडा, अँगेनामा मुन्टो गाडा’, ‘भट्टराई टट्टराई कुखुरा चोर, माझ् मझेरीमा सुँगुरको खोर’ आदि।
पहाड–मधेशको सम्बन्ध मात्र विभेदमा अडिएको भन्ने बयान नेपाल नजान्नेहरूका लागि सही हुनसक्छ, तर जानेकाहरूले मधेशको समथरमा सामाजिक विषमताका सगरमाथा नै भेट्टाउँछन्।
अहिले पनि मधेशी दलितहरूको सामाजिक अवस्था अत्यन्त दारूण छ। मधेशमा तिरहुतिया भनेर चिनिने ब्राह्मण र कायस्थहरूलाई अरू अर्थात् यादव, पचपौनियाहरूले एकदमै अविश्वास गर्छन्।
उखानै छ, ‘गया गाछ जब बकुला बैठा, गया गाँव जब तिरहुत पैठा।’ मधेशको गर्मीले आत्तिएर आङ कनाउने पहडियालाई उनीहरू भन्छन्, ‘ओई पहडिया ओई ओई, चिल्लर मारे टोई टोई।’ पहाडे त अझ् एकार लगाएर बोल्ने जात, जानेजति गाली ‘मधिसे’ लाई गर्छन्।
सबैले गालीको फाउ खेलिरहेका वेला अरूले ‘काँतर’ वा ‘वाग्मती पारि स्याल कराउँदा घ्याम्पामा पसेर घ्याम्पै हल्लिने गरी काम्ने’ भनेर उडाइएको कुनै नेवारले ‘मन मखु मडस्या खः’ भन्यो भनेर त्यसलाई भेदभावको राष्ट्रिय प्रतीक बनाउन खोज्नु चाहिं निहुँ खोज्ने काम मात्र हो।
पहाडे समाजमा एकार लगाएर बोल्ने चलन सामान्य हो। जस्तो– इलामे, पाँचथरे, बागलुङे, रामे, श्यामे आदि। यसरी लगाइएको एकार गाली होइन। यो भाषिक प्रचलनमा भोटको भोटे, पहाडको पहाडे र मधेशको मधेशे वा मधिशे हुन्छ।
तर, मधेशका भाषाहरूमा एकार लगाएर विशेषण बनाउने चलन नभएकोले एकार लागेका मधिशे वा मधेशे अपमानजनक हुनु स्वाभाविक हो। यहाँ पहाडेले ‘मलाई पहाडे भन्दा रिसाउँदिन, तिमीलाई पनि मधेशे नै भन्छु’ भन्नु सामाजिक असंवेदनशीलता हो। यसले देखाउँछ, हामी निश्चय नै असल छौं, तर समस्यामुक्त भने छैनौं।
सही हुँदै गइरहेका छौं
यस पटक मधेशी र जनजाति नेताहरूले ‘खस–आर्य’ लाई कति गाली गरे भनेर साध्य छैन। तर त्यस कुरालाई कुनै बाहुन–क्षत्रीले व्यक्तिगत रूपमा लिएन। गाली गर्नेहरूले पनि आफ्ना बाहुन–क्षत्री साथी छिमेकीसितको सम्बन्धमा कुनै अप्ठ्यारोपन आउन दिएनन्। भारतको नाकाबन्दी पछि मधेशी नेताहरूले भारतले होइन हामीले नाकाबन्दी गरेको भनिरहँदा पनि काठमाडौंमा कुनै मधेशीप्रति गलत व्यवहार भएन।
अझ् रमाइलो कुरा, एक अपराह्न साझा बसमा ललितपुरबाट महाराजगञ्ज जाँदै गर्दा मानिसहरू भारतलाई सकुञ्जेल गाली गरिरहेका थिए। जमलमा एउटा भारतीय समूह ‘यह बस भाटभटेनी जाता है?’ भन्दै चढ्यो।
समूहमा एकजना उभिन अलि गाह्रो पर्ने महिला थिइन्। उनलाई एकजना नेपाली युवकले सीट छाडिदिए। यात्रीहरू उनीहरूका केही प्रश्नका जवाफ हिन्दीमा दिंदै थिए र नेपालीमा भारतलाई गाली पनि गरिरहेका थिए। महाराजगञ्जमा बस रोकिएपछि उनीहरूलाई भाटभटेनी सुपरमार्केट जाने बाटो देखाइदिने स्वयंसेवा अझ् हेर्न लायक थियो।
यस्तो सद्भाव–सदासयता मधेशमा पनि उत्तिकै छ। २०६३ को मधेश आन्दोलनमा भएका नराम्रा कुरा यसपटक कतै दोहोरिएनन्। थरीथरीका द्वन्द्वको सृजना र निवारणका विशेषज्ञहरूले जे भने पनि हामी नेपाली नम्र छौं, लचिला छौं, हँसिला छौं र त्यसैकारण यो कमजोर देशलाई धानेर बाँचिरहेका छौं, बसिरहेका छौं।
झम्सिखेलमा भेटिएका थारू युवकको ‘टीकापुर’ भन्ने आत्मविश्वास हाम्रो समाजको सम्बल हो। आफ्नो समुदायको कसैले कुनै जघन्य, समाज विरोधी अपराध गर्यो भने पनि कसैले मलाई दोष लगाउँदैन भन्ने कुरा हामी सबैलाई थाहा छ। भनाइ नै छ नि, ‘तातोपानीले घर डढ्दैन, भनेकाले मान्छे मर्दैन!’
अशिक्षित, स्वार्थग्रस्त, पछौटेपन पीडित रहुन्जेल एकअर्काप्रतिका घोचपेच सकिंदैनन्। तिनलाई पढाइ, एक्सपोजर र उदारताले मात्र मास्न सकिन्छ।
अहिलेलाई विचार गर्नुपर्ने कुरा– कतै यो हाम्रो अत्यन्त चाम्रो समाजलाई थप कमजोर बनाउन हाम्रा स–साना घाउचोटमा कसैले नून–खुर्सानी त छर्किन खोजिरहेको छैन?