समाचारशुक्रबार, कार्तिक ६, २०७२
यु–१९ टोली स्वदेश फिर्ताः विश्वकप जित्न ब्याटिङ्मा सुधार गर्नुपर्ने
उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले चार महिनापछि बङ्गलादेशमा हुने विश्वकपमा भिड्ने भएको छ ।
मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भने, ‘‘टीमको कडा मेहनत र एक अर्काको सहयोगले यो नतिजा प्राप्त भएको हो ।’’
प्रतिस्पर्धा कडा भए पनि नेपाली टोलीको आपसी सहयोग र कडा मेहनतका साथ खेलेकाले अहिलेको सफलता आएको भन्दै उनले विश्वकपमा राम्रो नतिजा ल्याउन अझै कडा मेहनत चाहिने बताए ।
बाहिर गएर अभ्यास गर्न पाएको खण्डमा ब्याड्सम्यान र बलरलाई राम्रो गराउन सकिन्छ, कप्तान रिजालको भनाइ छ ।
नेपाली टोलीका प्रशिक्षक जगत टमटाले नेपाली टोलीका लागि अहिले राम्रो अवसर आएको र अझै राम्रो अभ्यास गरेमा जित नेपालको पक्षमा आउने बताए ।
“अहिलेको टीमका खेलाडीमा गुणस्तर छ, उनीहरुलाई नेपाली जनता, सरकार र राष्ट्रिय खेलकुद परिषद्ले अवसर दिन्छन् भने दुई वर्षमा राष्ट्रिय टोलीमा जान सक्छन् यिनका लागि ‘एक्सपोज’ चाहिन्छ,”–उनले भने ।
प्रशिक्षक टमाटाले छनौट चरणको पाँचवटा प्रतियोगितामा आयरल्याण्ड टप प्रतियोगी भएपनि नेपाली टीमले राम्रो खेलेको भन्दै थपे, “बलिङ ६०, ब्याटिङ ४० प्रतिशत छ, ब्याटिङमा सुधार गर्न जरुरी छ ।”
छनोट चरणमा पाँच टीम नेपाल, आयरल्याण्ड, अमेरिका, युगाण्डा र पपुवा न्युगिनीले प्रतिस्पर्धा गरेका थिए ।
मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्याण्डलाई तीन विकेटले पराजित गर्दै नेपाल विजेता टोली बनेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न आइपुगेको टोलीलाई नेपाल क्रिकेट सङ्घका पदाधिकारी तथा कर्मचारीले स्वागत गरेका थिए ।
रासस