समाचारआइतबार, कार्तिक ८, २०७२
एमालेको पहिलो विकल्पः कांग्रेसलाई राष्ट्रपति
संसद बैठक शुरु भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार व्यवस्थापिका–संसदमा राष्ट्रपति निर्वाचन प्रक्रिया शुरु भएको छ ।
११ कात्तिक विहान ११ बजे राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने समय तालिका व्यवस्थापिका संसदले सार्वजनिक गरिसकेको छ । यसअघि सहमतिका लागि ८ कात्तिक दिउँसो ४ बजेसम्मका लागि समय दिइएको छ ।
नयाँ राष्ट्रपतिका लागि प्रमुख दलहरुले आन्तरिक तथा अन्तरदलीय छलफललाई तिव्र पारेका छन् ।
अहिलेसम्म सत्तारुढ दलहरुले कांग्रेससँगको सहमतिमै राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने मनसाय बनाएका छन् ।
यसका लागि एमालेले आज कांग्रेससँग छलफल गर्ने भएको छ भने सरकारका उपप्रधानमन्त्री एवम् मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सभापति सुशील कोइरालासँग भेटवार्ता गरिसकेका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको ७ कात्तिक राति अवेरसम्म स्थायी कमिटी बैठक बसेर राष्ट्रपतिका बारेमा विभिन्न विकल्पमाथि छलफल गरेको छ ।
एमालेका एक पदाधिकारीका अनुसार संविधान कार्यान्वयन, भारतीय नाकाबन्दी, संविधानप्रतिको असन्तुष्टि, भूकम्पपछिको अवस्था समाधान गर्नका लागि आवश्यक दलहरुबीचको एकता कायम राख्नका लागि कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने पक्षमा अधिकांश नेताहरु उभिएका छन् ।
तर, २५ जेठमा भएको भद्र सहमति तोड्दै प्रधानमन्त्रीमा उमेद्वारी दिएकाले कांग्रेसलाई निशर्त राष्ट्रपति दिने पक्षमासहमत छैनन् प्रधानमन्त्री केपी शर्मा ओली । “कांग्रेस सरकारमा सहभागी बन्ने अवस्था बनेमा एमालेले कांग्रेसलाई राष्ट्रपति दिनसक्छ”, उपमहासचिव घनश्याम भूसाल भन्छन् ।
कांग्रेस सरकारमा सहभागी नभए एमालेले आफ्नै उमेद्वार तय गर्ने भएको छ ।
एमाओवादीबाट सभामुख र राप्रपा नेपालबाट उपसभामुख निर्विरोध निर्वाचित भइसकेकाले एमालेका उमेद्वारले राष्ट्रपति जित्ने विश्वास एमाले नेताहरुमा छ ।
तर, केही पदाधिकारीहरु अन्तिम अवस्थासम्म कांग्रेसलाई सहमतिमा ल्याउनुपर्ने पक्षमा छन् ।
सभामुख र उपसभामुखको निर्वाचनमा उमेद्वारी नदिएर कांग्रेसले पनि सहमतिको यात्रा कायम राख्न खोजेकाले राष्ट्रपति दिएर भए पनि प्रमुख दलहरुबीचको एकता भत्कन दिन नहुने तर्क कायम छ ।
राष्ट्रपति लिएर पनि कांग्रेस सरकारमा सहभागी नहुने अवस्थामा एमालेले आफ्नै उमेद्वारलाई राष्ट्रपति बनाउने देखिन्छ । एमालेका प्रवक्ता योगेश भट्टराई पार्टीले उमेद्वारी तय गर्ने बताउँछन् । उनी भन्छन्, “उमेद्वारी दिएपनि सहमतिका लागि छलफल गर्ने समय बाँकी नै रहन्छ ।”
एमालेकै उमेद्वार राष्ट्रपति बन्ने अवस्थामा बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारी, पूर्व सभामुख सुवास नेम्वाङ र नेता लालबाबु पण्डितको संभावना देखिन्छ ।
“यसमध्ये पार्टी उपाध्यक्ष भण्डारीको संभावना बढी छ । पार्टी अध्यक्ष, संसदीय दलका नेता एवम् प्रधानमन्त्री रहेका ओलीको पहिलो रोजाई भण्डारी भएकाले उनको संभावना बढी भएको हो”, एक पदाधिकारीले भने ।
यद्यपी, अहिलेसम्म कसलाई उमेद्वार बनाउने भन्ने छलफल भएको छैन ।
ओलीको पक्षको चाहना भण्डारी हुनुपर्ने छ भने नेपाल पक्षका नेताहरु सकेसम्म मधेशी वा जनजाति राष्ट्रपति हुनुपर्नेमा जोड दिइरहेका छन् ।
राष्ट्रपति उमेद्वारीकै विषयमा छलफल गर्न सत्तारुढ दलहरुका नेताहरुको बैठक बोलाइएको छ ।