समाचारआइतबार, कार्तिक ८, २०७२
सर्वदलीय बैठकः कांग्रेस र एमाले दुवैको राष्ट्रपतिमा दाबी
दलीय सहमतिमा राष्ट्रपति चयनका लागि बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले दुवैले राष्ट्रपति पदका लािग उम्मेदवारी दिने बताएका छन् ।
दुवै ठूला दलले राष्ट्रपति पदमा उम्मेदवारी दिने अडान राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ ।
सहमतिमा राष्ट्रपति चयन गर्न व्यवस्थापिका संसदले आज, ८ कात्तिक ४ बजेसम्मको समय तोकेको थियो । यद्यपी बहुमतीय प्रक्रियाभित्र पनि दलहरुबीच सहमति खोज्नसकिने एमाले वरिष्ठ नेता झलनाथ खनाले बताएका छन् ।
बैठकमा सहभागी कांग्रेस सभापति सुशील कोइरालाले राष्ट्रपति पदका लागि आफ्नो पार्टीले उम्मेदवारी दिने बताएका हुन् । उनले भने, “प्रधानमन्त्रीमा जस्तै हाम्रो दलले राष्ट्रपतिमा पनि उम्मेदवारी दिन्छ ।”
सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता खनालले सहमतिमा राष्ट्रपति चयन हुन नसकेपनि बहुमतीय प्रक्रियाभित्रै सहमति खोजिने बताए । “अझै पनि सहमतिको सम्भावना छ, प्रक्रिया बहुमतीय शुरु भए पनि दलहरुबीच सहमति हुनसक्छ ।”
बैठकमा सहभागी अन्य दलहरुले भने राष्ट्रपति पदका लागि कांग्रेस र एमालेले सहमति गर्नु पर्नेमा जोड दिएको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए ।
बहुमतीय प्रक्रियाद्वारा राष्ट्रपति चयनका लागि ११ कात्तिक ११ बजे निर्वाचन गरिने कार्यतालिका प्रकाशित भइसकेको छ ।