समाचारआइतबार, कार्तिक ८, २०७२

सरकार-मोर्चा वार्ता: १२ गते फेरि हुने

हिमालखबर

tripathiसरकारी वार्ता टोली र आन्दोलनरत मधेश केन्द्रित दलहरुबीच आज ८ कात्तिकमा भएको वार्ता सकारात्मक रुपमा अघि बढेको वार्ता टोलीका सदस्यहरुले बताएका छन् ।

आन्दोलनका क्रममा मृत्यु भएका सबैलाई शहीद घोषणा, मृतकका परिवारलाइ क्षतिपूर्ति, घाइतेको निशुल्क उपचार, दंगाग्रस्त र निषेधित क्षेत्र हट्नु पर्ने र आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्नुपर्ने मोर्चाको प्रारम्भिक मागहरु पूरा गर्नका लागि कानूनमन्त्री अग्नी खरेल र संघीय समाजवादी फोरमका सांसद लालबाबु यादव सम्मिलित समन्वय टोली गठन भएको छ ।

वार्तामा सहभागी मन्त्री खरेलले भने, “विशेषगरी वार्ताको वातावरण बनाउन मुद्दा फिर्ता, शहीद घोषणा र राहतका विषयमा विस्तृत रुपमा सरकारका तर्फबाट कानुनमन्त्री र मोर्चाका तर्फबाट लालबाबु राउतले संयोजन गरी अघि बढाउने छ, मूल विषय प्रदेश सीमाङ्कनमा अझै प्रगति हुन सकेको छैन, अर्को बैठकमा स्पष्ट भएर आउने विचारका साथ आजको वार्ता टुङ्गिएको छ ।”

“आज मोर्चासँग सौहार्दपूर्ण वार्ता भयो, उहाँहरुले पनि आफ्ना कुरा खुलेर राख्नुभयो, हामीले पनि खुलेरै कतिपय कुराहरु राख्यौँ । खासगरी उहाँहरुले सीमाङ्कन विवादको विषय आज पनि उठाउनुभाछ, अहिलेको संविधानले पनि सीमाङ्कनको विवाद टुङ्गो लगाउन आयोगको परिकल्पना गरिएको छ, त्यसमा फेरी पनि राजनीतिक तहमा छलफल गरेर विषयवस्तु टुङ्गो लगाउन हामी तयारै छौँ,”– कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्री समेत रहेका वार्ताटोली सदस्य खरेलले भने ।

वार्ताको उपयुक्त वातावरण बनाउन दुबै पक्षले सहमतिलाई कार्यान्वयनका लागि निर्णय तहमा पुर्‍याउनका लागि आवश्यक समन्वय र तयारी गर्न सरकारी वार्ताटोलीको तर्फबाट कानूनमन्त्री खरेल र मोर्चाको तर्फबाट लालबाबु राउत रहेको वार्ता समन्वय टोली गठन भएको छ ।

सरकारी पक्षले लामो आन्दोलनबाट जनता आजित भएको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्न वा फिर्ता लिनका लागि आग्रह गरेको खरेलले बताए ।

वार्ता सौहार्दपूर्ण ढङ्गले सकारात्मक बनेको र आगामी कात्तिक १२ गते दिउँसो १:०० बजे बस्ने गरी टुङ्गिएको मोर्चाका सदस्य हृदयेश त्रिपाठीले जानकारी दिए ।

सरकारले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्न गत कात्तिक २ गते उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

आजको वार्तामा सरकारका तर्फबाट मन्त्री थापा, कानुनमन्त्री अग्नि खरेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा र बिनाविभागीयमन्त्री रामजनम चौधरी थिए भने मोर्चाका तर्फबाट महन्थ ठाकुर, हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, लालबहादुर राउत र रामनरेश यादव सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>