समाचारसोमबार, कार्तिक ९, २०७२
कांग्रेस सांसदको घर नजिक बम भेटियो
राजविराज–५, स्थित नेपाली कांग्रेसका सांसद सुरेन्द्र यादवको घर पछाडि सिलिण्डर बम भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सानो ग्याँसको सिलिण्डरलाई बम बनाएर सांसद यादवको घर पछाडि राखिएको अवस्थामा फेला परेको हो ।
बिहान ६ बजेतिर ग्यास जस्तो पदार्थ गन्हाएपछि घर रुग्न बसेका व्यक्तिले चारैतिर खोजी गर्दा घर पछाडिको कम्पाउन्डमा ग्यास सिलिन्डर फेला परेको थियो ।
फेला परेको बमलाई राजविराजस्थित नेपाली सेनाको श्रीकृष्ण दल गणको टोलीले निस्क्रिय पारेको छ । बम कसले र किन राखेको हो ? भन्ने बारेमा थाहा हुन नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिए ।
फेला परेको सिलिण्डर बमसँगै अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोईतको तस्वीर छापिएका केही थान पुस्तकहरु पनि सोही ठाउँमा भेटिएको छ ।
सांसद यादव सप्तरी क्षेत्र नम्बर–६ बाट दोस्रो संविधानसभामा प्रत्यक्ष निर्वाचित भएका हुन् ।
-श्रवणकुमार देव, राजविराज