थप समाचारमंगलबार, कार्तिक १०, २०७२
भारतीय ट्रक चालकहरुको वीरगञ्जमा धर्ना
मधेश आन्दोलनका कारण नेपालमा अलपत्र परेका भारतीय ट्रकका चालकहरु आन्दोलित भएका छन् ।
दुई महिनाभन्दा लामो समयदेखि नेपालमै खाली गाडी थन्काउनु परेकोले किस्ता तिर्न समेत नसक्ने अवस्था आएको र घरपरिवारसँग पर्व मनाउन नपाइएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
भारतीय चालकहरुले ९ कात्तिक देखि वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको उत्तर गेटमा धर्ना दिन थालेका छन् ।
उनीहरुले घर फर्कन पाउनुपर्ने, बन्दमा फसेको अवधिभरको क्षतिपूर्ति दिनुपर्ने, परमिटको म्याद थपिनुपर्ने लगायत माग राखेका छन् ।
“कमाएको खाईसकियो, अब के खाने भन्ने चिन्ताले सताउन थालेको छ,” भारत उत्तरप्रदेशका चालक उत्तर मोहम्मद साहिदले भने, “त्यसैले आफ्नो देश जान पाउँ भनेर आफ्नै देशको दूतावासमा धर्नामा बसेका छौं ।”
धर्नामा बस्नेहरु अधिकांश ट्रकका मालिक र चालक पनि आफैं हुन् ।
किस्तामा गाडी किनेर चलाएका उनीहरुले दुई महिना भन्दा लामो समयदेखि तराई मधेशमा जारी बन्दमा फसेका कारण किस्ता तिर्न समेत पाएका छैनन् ।

वीरगञ्जमा अलपत्र भारतीय ट्रक
गाडीको परमिटको म्याद सकिनुको साथै किस्ता नबुझाएका कारण गाडी भारत पुग्ने वित्तिकै बैङ्कले थुत्ने अवस्थामा पुगेको उनीहरु बताउँछन् ।
पञ्जाबका दलजीत सिंहले चना र भूजा त्यो पनि एक छाक मात्रै खाएर बस्नुपर्ने अवस्थामा आफूहरु पुगेको बताए । भने, “हामीे बिचल्लीमा छौं, हाम्रो सरकारले वास्तै गरेन, त्यसैले धर्नामा बसेका हौं ।”
छत्तिसगढका अनिल सिंहले भने, “हामीसँग खानको लागि त के अब घर फर्कने पनि पैसा छैन ।”
महाबाणिज्य दूतावासका अधिकारीहरुले भने भारतीय सरकारसँग क्षतिपूर्तिका लागि पहल गरिदिने आश्वासन दिएको र कागजपत्र मगाएको चालकहरुले बताएका छन् ।
७४ दिनदेखिको मधेश बन्द र ३४ दिनदेखिको नाकाबन्दीका कारण ५ सय भन्दा बढी भारतीय खाली गाडीहरु भन्सार क्षेत्रमा अलपत्र अवस्थामा छन् ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
