रिपोर्टमंगलबार, कार्तिक १०, २०७२

मजबुत सम्बन्ध

सन्त गाहा मगर

 तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल जनकपुरस्थित निवासमा श्रीमती विजया लक्ष्मी श्रेष्ठसाथ। तस्वीर: बिक्रम राई


तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल जनकपुरस्थित निवासमा श्रीमती विजया लक्ष्मी श्रेष्ठसाथ। तस्वीर: बिक्रम राई

मधेशी दलहरूले लगाएको चर्को विमतिको नाराले ‘पहाडिया र मधेशी’ बीचको मजबुत सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक सम्बन्धमा दरार ल्याउन सक्ने देखिंदैन।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अगुवाइमा जारी विरोध प्रदर्शनका कारण दुई महीनायता देशभरको जनजीवन पीडादायी बनेको छ। लाग्छ, पहाड र हिमालवासीलाई जति कष्ट भयो, उति नै आफ्नो ध्येय पूरा भएको ठानिरहेका छन्, आन्दोलनकारी।

दशैं, तिहार, छठ, बकर इद जस्ता पर्वहरूको पूर्वसन्ध्यामा गरिएको आन्दोलनले शासक वर्गलाई त त्यस्तै हो, जनसाधारणलाई चाहिं आक्रान्तै पारेको छ, जसमा मोर्चालाई कुनै चासो भए जस्तो देखिंदैन।

दशैंमा पनि आन्दोलनलाई निरन्तरता दिने मोर्चाको २६ असोजको घोषणाले सदासयताको अभाव देखाएको छ।

यो त्यही मधेशी मोर्चा हो, जसले गत १२ वैशाखको विनाशकारी महाभूकम्पपछि हिमाल–पहाडका नेपाली दाजुभाइ दिदीबहिनीलाई विपत्मा भरथेग गर्न ‘मुट्ठी दान अभियान’ चलाएको थियो।

त्यो वेला प्राकृतिक विपत्तिले पहाडलाई चोट लाग्दा मधेशलाई पनि दुखेको थियो र ‘पहडिया’ को घाउमा मलम लगाउन अग्रसर हुने मधेशीको कुनै कमी देखिएन, मधेशमा। लाग्थ्यो, गीतकार दिनेश अधिकारीले त्यही परिदृश्यका यी हरफहरू लेखेका थिए–

पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ।

आँधी आए तराईमा पहाडले छेक्नुपर्छ।।

८ हजार ८५६ को मृत्यु र २२ हजार ३०९ जनालाई घाइते बनाएको महाभूकम्पबाट तङ्ग्रिने क्रममा ‘हिमाल पहाड तराई, कोही छैन पराई’ भन्ने भाव नेपालभर देखिएको थियो।

त्यसो त, कोशीमा बाढी आउँदा होस् वा तराईमा शीतलहरले जीवनचर्या असहज बन्दा; हिमाली–पहाडीबाट पनि सहयोगी हातहरू अगाडि बढ्ने गरेकै थिए।

पहाडका हुन् कि तराई–मधेशका, देशवासीलाई विपत् पर्दा हुँदा खाने वर्ग पनि गाँस काटेर सहयोग गर्न अघि सर्ने चलन नयाँ होइन।

दाइजो होस् वा कथित बोक्सीको आरोपमा, मधेशी दिदीबहिनीहरूलाई प्रताडित गरिंदा पनि पहाडमा त्यसको कडा विरोध हुने गरेको छ।

यी केही उदाहरण हुन्, जसले मधेश–पहाड–हिमालबीच नागरिकस्तरमा विकसित सम्बन्ध पुष्टि गर्छन्। यी यस्ता प्रमाण पनि हुन्, जसले मधेश–पहाड सम्बन्ध अन्तर्राष्ट्रिय गैससका प्रतिवेदन र मधेशकेन्द्रित दलका नेताहरूको भाषणजस्तो नभएको देखाउँछन्।

समाजशास्त्री गणेश गुरुङ हिमाल, पहाड र तराई–मधेश जहाँ बसे पनि एकअर्र्कासँग सुख–दुःख बाँड्ने स्वभावले नै ठूल्ठूला उथलपुथलमा पनि नेपालीहरू एकढिक्का रहनसकेको बताउँछन्।

“राजनीति र अपराध प्रेरित छिटफुट घटनालाई अपवाद मान्ने हो भने”, डा. गुरुङ भन्छन्, “जनस्तरमा समस्या भन्दा सद्भाव र सहयोग नै बढी छ।”

पछिल्लो समय मधेशलाई हिमाल र पहाडसँग जोड्न यातायात र सूचनाप्रविधिले पनि ठूलो योगदान गरेको देखिन्छ। पहिले महीनौंको दूरीलाई अहिले सडक सुविधाले एकाध घन्टा वा दिनमा छोट्याइदिएको छ।

काठमाडौं बसपार्कबाट गन्तव्यतर्फ जाँदै विभिन्न समुदायका यात्रु। तस्वीर: गोपेन राई

काठमाडौं बसपार्कबाट गन्तव्यतर्फ जाँदै विभिन्न समुदायका यात्रु। तस्वीर: गोपेन राई

सञ्चारमाध्यमले सूचनाका साथै एकअर्काको भाषिक, सामाजिक, सांस्कृतिक पक्षबारे जानकार बनाउँदैछ। “मधेशलाई काठमाडौंबाट दूर बनाउने एउटा मुख्य कारक भौगोलिक दूरी थियो”, प्रा.डा. वीरेन्द्र मिश्र भन्छन्, “अहिले सञ्चार र यातायातले एकाध घन्टा वा सेकेण्डको बात बनाइदियो।”

शैक्षिक–राजनीतिक कडी
कतिपय मधेशी नेता तथा अभियन्ताहरूले पहाडबाट भएको बसाइँसराइलाई तराई–मधेश विरुद्ध नियोजित षड्यन्त्र र शोषण भने पनि यसले दुई क्षेत्रका नेपालीलाई एक ठाउँमा ल्याउने काम गर्‍यो। यसबाट भाषिक, सांस्कृतिक, सामाजिक अन्तरघूलन बढ्यो।

त्यस्तै, व्यापार–व्यवसायी, सरकारी जागिरे, राजनीतिकर्मी र शिक्षकहरूको आवतजावतले मधेश–पहाड सम्बन्ध सेतुको काम गर्‍यो। ४ मंसीर २०७० को संविधानसभा निर्वाचनमा पनि मधेशी मतदाताहरूले राष्ट्रिय दलहरूलाई मत दिएका थिए।

त्यति मात्रै होइन पहाडी समुदायका नेताहरू मधेशमै स्थापित छन् जस्तो एमाले वरिष्ठ नेता माधवकुमार नेपाल रौतहट–१, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सिराह–५ बाटै सांसद् निर्वाचित भएका हुन्।

एउटै राजनीतिक सिद्धान्तमा आबद्ध हुँदा को पहाडको? को मधेशको भन्ने भावनाले महत्व नपाउने सम्बद्धहरूको अनुभव छ। “कम्युनिष्टहरूलाई कम्युनिष्ट भनेपछि स्वतः आफ्नोपन अनुभव हुँदोरहेछ”, नेकपा संयुक्तका अध्यक्ष गणेश साह भन्छन्।

पूर्व मन्त्री समेत रहेका साहको पहाडसँगको सम्बन्ध भने राजनीतिक दर्शनमा मात्र सीमित छैन। पारिवारिक रूपमै मधेश–पहाड जोडेका साह र कल्याणी सापकोटाका दुई बुहारीमध्ये एउटी राई र अर्की अमेरिकन छन्।

वैवाहिक सम्बन्धबाट पहाडसँग जोडिएका मधेशीमा पहाडी शासकहरूले मधेशलाई अधिकार नदिएको भन्दै आन्दोलनरत संयुक्त मधेशी मोर्चाको एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल पनि हुन्।

उनले काठमाडौंकी विजयालक्ष्मी श्रेष्ठलाई जनकपुरकी बुहारी बनाएका छन्।

“तराई–मधेशको आन्दोलनले पहाडमा तेल–ग्याँसको अभाव हुँदा वास्तवमै म दुःखी छु”, विजयालक्ष्मी भन्छिन्, “मोर्चाका जायज मागहरू पूरा गरेर यो असहजता हटाउनुपर्छ।”

आन्दोलन छाडेर उपप्रधानमन्त्री बन्न आएका मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार र उनकै दलका उपाध्यक्ष जितेन्द्र देवले पनि वैवाहिक सम्बन्धले मधेश–पहाड जोडेका छन्। सत्तारुढ नेकपा एमाले र एमाओवादीमा त्यस्ता नेता थुप्रै छन्, जसले पहाडी–मधेशी वैवाहिक सम्बन्ध गाँसे।

मधेशलाई काठमाडौंबाट दूर बनाउने एउटा मुख्य कारक भौगोलिक दूरी थियो। अहिले सञ्चार र यातायातले त्यो पनि घटाइसकेको छ। प्रा.डा. वीरेन्द्र मिश्र

मधेशलाई काठमाडौंबाट दूर बनाउने एउटा मुख्य कारक भौगोलिक दूरी थियो। अहिले सञ्चार र यातायातले त्यो पनि घटाइसकेको छ। प्रा.डा. वीरेन्द्र मिश्र

सुशील कोइराला सरकारका चर्चित सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काठमाडौंकी रैथाने विमला महत र एमालेका अर्का नेता डा. वंशीधर मिश्रले दुर्गा खड्कासँग वैवाहिक सम्बन्ध जोडेका छन्।

त्यस्तै एमाओवादी सांसद् अन्जना चौधरीले ताराप्रसाद खत्री र फोरम लोकतान्त्रिककी सांसद् कल्पना बस्नेतले जितेन्द्र चौधरीलाई जीवनसाथी बनाएका छन्।

समाजशास्त्री डा. गुरुङ फरक जात र संस्कृतिबीचको वैवाहिक सम्बन्धले समाजलाई बढी गतिशील बनाउने बताउँछन्। “उनीहरूबाट जन्मेका सन्तानसम्म आइपुग्दा धेरै विषय समान भइसक्छ”, गुरुङ भन्छन्।

तराई–मधेशबाट पहाड पसेका शिक्षक, स्वास्थ्यकर्मीहरू पनि पहाड–मधेश अन्तरघूलनको एउटा महत्वपूर्ण कडीको रूपमा रहेका छन्।

थुप्रै मधेशी शिक्षक, स्वास्थ्यकर्मीहरूले पहाडी परिवारसँग वैवाहिक सम्बन्ध गाँसेका छन्। शिक्षाविद् डा. विद्यानाथ कोइराला हिमाल–पहाडको शिक्षामा तराई–मधेशका शिक्षकहरूको अतुलनीय योगदान रहेको बताउँछन्।

“हिमाल–पहाडलाई मधेशले नै पढाएको भन्दा अन्यथा हुँदैन”, उनी भन्छन्, “विज्ञान र गणित विषयमा त मधेशी शिक्षकहरूको प्रभुत्व नै छ।”

सहसम्बन्धका जुइना
विद्यालय शिक्षामा मात्रै होइन, बहुआयामिक ज्ञानको भण्डार पनि मधेशमै छ। निर्वाहमुखी अर्थतन्त्रबाट जुरुक्कै उठ्न सक्ने आयमूलक मौलिक सीपमा पनि मधेशी समुदाय धनी देखिन्छ।

जस्तो, मधेशमा गोबरको गुइँठा बनाउने चलन छ, जुन इन्धन अभावका वेला ऊर्जाको भरपर्दो स्रोत बन्छ।

तराई–मधेशको विषयमा अध्ययन–अनुसन्धान भने कमै भएको डा. गुरुङ बताउँछन्। “स्वदेशी–विदेशी अध्येताहरूले मधेशलाई विषय बनाउन सके त्यहाँभित्रको सामाजिक सम्बन्धहरूको धेरै विशेषता उजागर हुनेछ”, डा. गुरुङ भन्छन्, “त्यसबाट समस्या समाधानको बाटो पनि निस्कन्छ।”

हिमाल नपग्लिए मधेश सिञ्चित हुन्न। पहाड नउम्रे मधेशले पानी पाउन्न। मधेश डढे पहाड मर्छ, पहाड वर्षे मधेश।

पहाड र हिमालका घरघरमा पसल पुर्‍याउने काम मधेशले नै गरेको हो। जति मोलमोलाइ गर्दा पनि नरिसाई कम नाफा राखेर सामान बेचेरै छाड्ने कला मधेशले नै अरूलाई सिकाएको हो।

बचत गर्ने कलामा पहाड र हिमालभन्दा मधेश नै निपुण छ भने पहाड र हिमालमा खाइने भातका लागि अन्नको भण्डार मधेशले नै चामल उपलब्ध गराउँछ।

“संग्रह गर्ने संस्कार पनि मधेशकै हो”, ‘मधेशका बोलीचाली’ पुस्तकका सह–लेखक समेत रहेका शिक्षाविद् कोइराला भन्छन्, “यसलाई शिक्षाको रूपमा लिन सके जति कमायो त्यति उडाउने गलत चलनको अन्त्य हुनेछ।”

त्यसो त पहाड र मधेशको सम्बन्ध एकतर्फी बाटो जस्तो पनि छैन। तराई मधेशका जिल्लाहरू जहाँ मिश्रित बस्ती छ, विकास त्यहीं भएको छ। रैथाने मधेशी र पहाडे मिलेर बसेको बस्तीको रौनक नै वेग्लै देखिन्छ।

मिश्रित बस्तीहरूलाई कतिपय आलोचकहरू ‘विकासको मूल फुटाउने’ महेन्द्रकालीन योजनाको उपज ठान्छन्। तर, त्यति मात्रै कारणले मधेश–पहाडको संयुक्तबस्ती झ्किझ्काऊ नभएको पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन्।

हिमाल नपग्लिए मधेश सिञ्चित हुन्न। पहाड नउम्रे मधेशले पानी पाउन्न। मधेश डढे पहाड मर्छ, पहाड वर्षे मधेश। डा. विद्यानाथ कोइराला

हिमाल नपग्लिए मधेश सिञ्चित हुन्न। पहाड नउम्रे मधेशले पानी पाउन्न। मधेश डढे पहाड मर्छ, पहाड वर्षे मधेश। डा. विद्यानाथ कोइराला

“पहाडबाट बसाइँसराइ भएपछि नै मधेशमा पक्की घर, व्यवस्थित शौचालय बन्न थालेका हुन्”, खनाल भन्छन्, “घुलमिल हुने, नयाँ कुरा अनुसरण गर्ने कला मधेशले पहाडबाट सिक्यो।”

फरक भूगोल र मौसमका कारण हिमाल, पहाड र मधेशमा एउटै समयमा फरक बालीनाली उत्पादन हुन्छ। त्यसलाई सदुपयोग गर्न सक्दा आर्थिक समृद्धिको आधार तयार हुने खनाल बताउँछन्।

शिक्षाविद् कोइराला हिमाल नपग्ले मधेश सिंचित हुन्न, पहाड नउम्रे मधेशले पानी पाउन्न र मधेश डढे पहाड मर्छ भन्ने कुरा मधेशले बुझेको बताउँछन्।

“पहाड वर्षे मधेश डुब्छ, हिमाल पग्ले पहाड खस्छ र मधेश पुरिन्छ”, डा. कोइराला भन्छन्, “मधेशले राम्ररी बुझेको छ, यो सहसम्बन्ध पनि।”

पछिल्लो समय यातायातको सहजता र कलकारखाना स्थापनाले पहाडको अर्थतन्त्रलाई तराईसँग अझ् मजबुतसँग जोडेको छ। ती कलकारखाना संचालनका लागि चाहिने विद्युत्का साथै जडीबुटी, चुन ढुंगालगायतका कच्चा पदार्थ पहाडबाट आपूर्ति हुन्छ।

चिया, अदुवा, अलैंची, घ्यू मात्र होइन अहिले त ठूलो परिमाणमा आलु, काउली, बन्दालगायत मौसमी तरकारी र फलफूल पनि पहाडबाट मधेश झर्न थालिएको छ। पूर्व अर्थ सचिव खनाल भन्छन्, “तराई–पहाड यो आदान–प्रदानले देशको अर्थतन्त्रलाई मजबुत बनाउँदैछ।”

२०६२/६३ को जनआन्दोलनपछि राजतन्त्रकालीन ‘एक भाषा, एक भेषको नीति’ कमजोर भएर तराई–पहाड राजनीतिक सम्बन्ध पनि क्रमशः बलियो बन्दै गएको छ।

त्यसपछिका मधेश आन्दोलनहरूले त्यो सम्बन्ध र सोचको दायरालाई अझ् फराकिलो बनाउने काम गरे। २०१८ सालमा जनकपुरमा राजा महेन्द्र सवार जीपमा बम प्रहार गरेका दुर्गानन्द झाकै जिल्लावासी डा. रामवरण यादवलाई नेपालले गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रूपमा पायो। गणतन्त्र स्थापना यताको कार्यपालिकामा झ्ण्डै आधा हिस्सा तराई–मधेशले पाएको देखिन्छ।

संविधानसभाबाट जारी नयाँ संविधानले तराई–मधेशका जनताको शतप्रतिशत माग पूरा गरेको छैन, तर पहाड र हिमालवासीको पनि सबै माग पूरा भएको छैन।

पहाडको कला, संस्कृति, पाटी–पौवा, पोखरी, गुम्बा निर्माणमा समेत योगदान रहेको मधेशीले काठमाडौंसँग हिस्सेदारी खोज्नुको विकल्प छैन, संविधानसभाको अन्तिम बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने जस्तै।

“काठमाडौंमा मधेशी जनताको रगत–पसिना मिसिएको छ”, दाहालले भनेका थिए, “मधेशले काठमाडौंमा आफ्नो पूरा अंश खोज्नु पर्‍यो, अलग्गिने सोच राख्ने होइन।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>