रमझमबुधबार, कार्तिक ११, २०७२
पाटनमा अन्तर्राष्ट्रिय फोटो महोत्सव हुने
ललितपुरको पाटनमा १७ कात्तिकदेखि अन्तर्राष्ट्रिय फोटो महोत्सवको आयोजना हुँदैछ ।
२३ कात्तिकसम्म चल्ने महोत्सवको आयोजना फोटोसर्कलले गर्न लागेको हो ।
फोटोग्राफी, इतिहास, मानवशास्त्र तथा अन्य कलाहरु बीचको अन्तक्र्रियालाई प्रोत्साहन दिँदै महाभूकम्प पछि पुनर्निर्माणमा जुटेको नेपाली समाजमा आवश्यक सांस्कृतिक जीवन्ततालाई उत्प्रेरित गर्न महोत्सवको आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।
महोत्सवमा फोटो प्रदर्शनी, कलाकार वार्ता, ६ रातसम्म स्लाइड शो तथा ६ वटा कार्यशालाहरु लगायतका कार्यक्रम हुनेछन् ।
फोटो महोत्सवले दृश्यात्मक माध्यमबाट नेपालको विगतको अभिलेख निर्माण गर्दै भविष्यबारे चर्चा गर्ने आयोजकले बताएका छन् ।
“पहिचानको पुनर्निर्माणका लागि संवाद चाहिन्छ र त्यस्तो संवादलाई सहजीकरण गर्न कला र संस्कृति शक्तिशाली माध्यम हुन् भन्ने हामी विश्वास गर्छौँ,” महोत्सवकी सहनिर्देशक नयनतारा गुरुङ कक्षपति भन्छिन् ।
महोत्सवमा ३१ देशलाई प्रतिनिधित्व गर्ने ८० फोटो परियोजनाहरुलाई पाटनमा र वरिपरीका सार्वजनिक स्थानहरुमा प्रदर्शनीका लागि छनौट गरिएको छ भने पाटनका विभिन्न चोक र गल्लीमा रात्रीकालीन डिजिटल स्लाइड शो गरिनेछ ।
प्रदर्शनीमा विकास रौनियार, फिलिप ब्लेन्किन्सप, केविन बुब्रिस्की, किशोर शर्मा, प्रशित स्थापित, फ्रेडरिक लेक्लु, जुजुभाई धाक्वा, तुओमो मिन्निएन् तथा अन्य नेपाली र गैरनेपाली कलाकारहरु संलग्न छन् ।
महोत्सवमा फोटोग्राफरका लागि ६ वटा कार्यशाला पनि आयोजना गरिनेछ ।
महोत्सवका पाँच दिनमा स्थानीय र विश्वभर बाट आएका कलाकारहरुसँग वार्तालाप तथा फोटोग्राफर, क्युरेटर, मानवशास्त्री, इतिहासविद तथा समसामयिक फोटोग्राफी, दृश्यमाध्यम र शब्दमाध्यम, फोटो पुस्तकनिर्माण, दक्षिण एसियामा फोटोग्राफीको इतिहास आदि विषयका ज्ञाताहरुसँग संवादकार्यक्रमहरु आयोजना गरिनेछ ।
यी कार्यक्रमहरु कार्तिक १८ गते देखि कार्तिक २२ गते सम्म हरेक दिनदिउँसो ३ बजे देखि साँझ ६ बजेसम्म पाटन ढोका स्थित यलामाया केन्द्रमा आयोजना गरिनेछ ।
असारमा महोत्सवबारे घोषणा भएदेखि यस महोत्सवले कम्तिमा यौटा ऐतिहासिक धरोहर पुनर्निमाण गर्न पुग्ने रकम संकलन गरेको पनि आयोजकले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
