समाचारशुक्रबार, कार्तिक १३, २०७२
उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता
भोली, १४ कात्तिकमा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता साझेदार दलहरूका तर्फबाट उपराष्ट्रपति पदमा एमाओवादीका नन्दकिशोर पुन, नेपाली कांग्रेसका तर्फबाट अमियकुमार यादव, परिवार दलका दयाराम कँडेल र स्वतन्त्र सभासद अतहर कमाल मुसलमानले उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्ता साझेदार दलहरुका साझा उम्मेदवार पुनको प्रस्तावकमा एमाले वरिष्ठ नेता झलनाथ खनाल र समर्थकमा राप्रपा नेपालका दिलनाथ गिरी समर्थक छन् ।
आज १३ कात्तिकमा बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले पुनलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यसअघि नै एमाओवादीले पुनलाई उपराष्ट्रपति बनाउने निर्णय गरिसकेको भए पनि एमाले र गठबन्धनका अन्य दलहरुले पुनको नाममा असहमति जनाउँदै आएका थिए ।
तर एमाओवादीले पुन लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन अडान नछोडेपछि अन्तिम समयमा सहमति बनेको हो ।
पूर्व लडाकु कमाण्डर पुन एमाओवादी स्थायी कमिटी सदस्य हुन् । ४ मंसीर २०७० को संविधानसभा सदस्यको निर्वाचनमा पुन काठमाडौं क्षेत्र नं। ४ मा कांग्रेस नेता गगन थापाबाट पराजित भएका थिए ।
कांग्रेसबाट यादव
नेपाली कांग्रेसका अमियकुमार यादवले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
व्यवस्थापिका–संसद् सचिवालय निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले गराएको उम्मेदवारी दर्तामा कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ प्रस्तावक र समर्थकमा सचेतक ईश्वरी न्यौपाने छन् ।
सिराहा जिल्लावासी यादव कांग्रेसका पुराना नेता एवम् समानुपातिक तर्फका सांसद हुन् ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार यादवले हिमाल, पहाड तराईका जनताको बीचमा एकता र भातृत्वको भावनालाई आत्मसात् गरेर अगाडि बढ्ने वताएका थिए ।
कँडेल पनि उम्मेदवार
नेपाल परिवार दलका नेता दयाराम कँडेलले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
कँडेलको प्रस्तावकमा नेपाल परिवार दलका एकनाथ ढकाल र समर्थकमा मिलनकुमारी राजवंशी छन् ।
स्वतन्त्र सांसद मुसलमान पनि प्रतिस्पर्धामा
स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
कपिलवस्तु जिल्लाको क्षेत्र नं २ बाट स्वतन्त्र रुपमा संविधानसभा सदस्य निर्वाचित भएका मुसलमान विगतमा नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील थिए ।
मुसलमानको प्रस्तावकमा अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का र समर्थकमा जनजागरण पार्टी नेपालका सांसद लोकमणि ढकाल छन् ।
उम्मेदवारी दर्ता गराएपछि मुसलमानले आफू विजयी भए राष्ट्रिय स्वाभिमानलाई सगरमाथा जस्तै अटल तुल्याउने प्रतिवद्धता व्यक्त गरे ।
राष्ट्र र राष्ट्रियता खतरामा परेको समयमा तराई—मधेशको एउटा प्रदेशमा पछाडि परेको जाति तथा समुदायबाट राज्यको महत्वपूर्ण निकायमा प्रतिनिधित्व हुने र तराईमा जारी आन्दोलनको पनि समाधान खोज्न सकिने उनको विश्वास छ ।
सचिवालयले आज बिहान १० बजेदेखि अपरान्ह १३ बजेसम्म उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउने निर्वाचन तालिका तोकेको छ ।