रमझमशुक्रबार, कार्तिक १३, २०७२
गुडगुडे संस्कृति
अहिले ‘सीसा’ बनेको हुक्का अर्थात् गुडगुडे कुनै वेला नेपाली समाजको शान र मानको मानक पनि मानिन्थ्यो।
आजकाल ‘सीसा’ का नाममा युवालाई आकर्षित गरिरहेको हुका, हुक्का, वाटर पाइप, नरजिलाह, क्यालान वा गुडगुडे फरक रूपमा संसारका सबै कुनामा प्रचलित थिए र छन्।
विभिन्न वास्ना (फ्लेवर) मा पाइने तमाखुको वाफ वा धूवाँ पानीहुँदै शरीरमा पस्छ।
पानीबाट छिरेर धूवाँ शरीरमा पस्ने भएकाले हुक्का अन्य धूमपानका तुलनामा कम हानिकारक हुन्छ भन्ने तर्क पनि गरिन्छ। तर, यसको कुनै वैज्ञानिक आधार भने छैन।
तमाखुको चलन जताततै भए पनि वाटर पाइप भने इरानतिरबाट शुरू भएको मानिन्छ। दक्षिणएशियामा भने अंग्रेज शासनकालमा व्यापारिक हिसाबले नै यसको उत्पादन, बिक्री–वितरण तथा उपभोगमा व्यापकता आउन थालेको देखिन्छ।
त्यो वेला हुक्काको आकार, प्रकार, सामग्री, आयात–निर्यात तथा बिक्री–वितरण गर्ने व्यापारिक घरानाहरूले निकालेका सूचीपत्र र पत्रपत्रिकामा यसबारे विज्ञापन पनि छापिन्थ्यो।
सय वर्षमा हुक्का
नेपालमा १९७०–८० सालको दशकमै गुडगुडेका लागि आवश्यक सामग्री भारतबाट आयात गरिनुका साथै स्थानीयस्तरमै तमाखु उत्पादन भइरहेको प्रमाण भेटिन्छ।
१९८६ सालमा बनारसबाट प्रकाशित एउटा सूचीपत्रमा तस्वीरसहित हुक्का, गुडगुडीको विज्ञापन गरिएको छ।
विज्ञापनमा गुडगुडे मगाउनका लागि अनुरोध गरिएको छ र विश्वराज शर्मा गोरखा पुस्तकालय रामघाट, बनारस सिटी वा सर्व हितैषी कम्पनी नं २५ बहुबजार, कलकत्तामार्फत यी सामग्री मगाउन सकिने जानकारी पनि दिइएको छ।
हुक्का मुरादावादी गुडगुडी भनेर विज्ञापन गरिएका यी सामग्रीको सुमेरू भने सादा र बुटेदार गरी फरक–फरक हुनसक्ने र मूल्य पनि फरक हुनसक्ने लेखिएको छ।
रबरको नली सामान्यतः एक फुटको हुक्कासँग पाइए पनि त्योभन्दा लामो चाहिएमा थप रकम दिनुपर्ने पनि भनिएको छ।
रु.२ देखि रु.६ सम्मका हुक्कामा लाग्ने नली भने एक फुटको २ सुका, तीन सुका र १ रुपैयाँ दरले फरक–फरक गुणस्तरको पाइने जानकारी दिइएको छ। नली जति चाहिन्छ त्यति लामो मगाउन सकिने जानकारी पनि दिइएको छ।
अग्रिम पैसा बुझाएमा भारतका विभिन्न शहर तथा बर्मामा सामग्री पार्सलमार्फत पठाउने व्यवस्था पनि गरिएको थियो।
नेपालबाट भने पैसा पठाउन नमिल्ने भएका कारण पार्सलबाट सामान मगाउने चलन थिएन। तर, व्यापारीहरूले कलकत्ता वा बनारसबाट यस्ता सामग्री सीधै ल्याई नेपाली बजारमा बिक्री गर्थे।
नेपाल र दक्षिणएशियामा नली (पाइप) सहितको हुक्काको प्रयोगले सामाजिक प्रतिष्ठाको झलक दिन्थ्यो। जति लामो नली त्यति नै प्रतिष्ठित वा धनी व्यक्ति ठानिन्थ्यो।
हुक्का ‘सामन्तवाद’ को चिनारी मात्र होइन, संस्कृति र जीवनकै अङ्ग बनिसकेको थियो। ‘हुक्कापानी’ बन्द गर्ने कथन त्यसै बनेको होइन।
हुक्का नशा या अम्मल मात्र थिएन, कुराकानीको माध्यम पनि थियो, शिष्टाचार र पाहुना सत्कार पनि थियो।
जातीय तथा पारम्परिक विभेदका विविध आयाम पनि देख्न सकिन्थ्यो। यसैको सहारामा गाउँका दाजुभाइ, साथीभाइको भेट हुने र एउटै हुक्कामा जोडिने गरेको पनि पाइन्छ।
हुक्का–चिलिमसँग जोडिएका उखान, टुक्का, गीत र कविताको प्रचलनमा पनि यसको लोकप्रियता झल्कन्छ।
अराउँ सिकाउँ, कतिभट्टीपारू
भनेको नमान्दा नलीपो बजारूँ
निर्माण सामग्री र स्थान अनुसार हुक्का, नली, चिलिम वा तमाखु सबैको विशेषता पनि फरक थिए। नरिवलको खपटाको प्रयोग गरेर बनाइने हुक्का, माटोको चिलिम र बाँसको नलीबाट स्थानीयस्तरमै निर्माण हुने ‘हुक्का’ देखि आयातित महङ्गा चाँदीका बुट्टेदार हुक्कामा नेपाली उपभोक्ता लोभिएका देखिन्थे।
भारतबाट आयातित रबरका नलीसँगै नेपालभित्रै बनेका बाँसका नली पनि ‘ब्रान्ड’ बनेको थियो। बाग्लुङमा बनेको बाग्लुङे नली हुक्का प्रयोग गर्नेमाझ लोकप्रिय थियो। बुट्टेदार यो नलीको भाउ अन्य नलीभन्दा बढी थियो।
आयातितबाहेक स्थानीयस्तरमै तमाखु बनाउने चलनले पनि व्यापकता पाएको थियो। काठमाडौं उपत्यकामा भेली वा खुदोको प्रयोग गरेर तमाखु उत्पादन गरिन्थ्यो। उखु पेल्ने समयमा खुदो प्रयोग गरेर वर्षभरिका लागि तमाखु तयार पारिन्थ्यो।
सूर्तिको पात, डाँठलाई खुदो वा रापमा मुछेर पकाएपछि तमाखु तयार हुन्थ्यो, जुन वर्षभरि प्रयोग गरिन्थ्यो।
काठमाडौंको भोटाहिटी क्षेत्र तमाखु बिक्री–वितरण गर्ने प्रमुख स्थानमध्येको एक थियो। जहाँ टाढैबाट तमाखुको वास्ना आउँथ्यो। काठमाडौंबाहेक बुटवल (खस्यौली) तमाखुका लागि चर्चित थियो।
१९७०–८० तिर पहाडबाट सामान लिन बुटवल झार्नेहरूलाई साहूजीले किनेका सामग्रीको आधारमा ‘फोस्सा’ (निःशुल्क) तमाखु दिने चलन रहेको बूढापाका बताउँछन्।
(मदन पुरस्कार पुस्तकालयको सामग्रीमा आधारित)