समाचारशुक्रबार, कार्तिक १३, २०७२
राजधानी पठाउन लागिएको विरोधमा ग्यास कम्पनीमा तालबन्दी
बाँकेस्थित मनकामना र भेरी ग्यास कम्पनीमा मध्य तथा सूदुरपश्चिमका ग्यास विक्रेताहरुले तालाबन्दी गरेका छन् ।
सरकारले नेपालगञ्ज–रुपैडिहा नाकाबाट भित्रने ग्यास मध्ये ७५ प्रतिशत राजधानी पठाउन दिएको निर्देशनको विरोधमा १३ कात्तिकमा तालाबन्दी गरिएको हो ।
उनीहरुले हिजो पनि आयल निगम क्षेत्रीय कार्यालय नेपालगञ्जमा घेराउ गरेका थिए ।
यस क्षेत्रमा मासिक २१ सय ४० मेट्रिक टन आवश्यक पर्ने भएपनि हाल ११ सय ४१ मेट्रिक टन ग्यास आएको छ । त्यसमध्येको ७५ प्रतिशत ग्यास राजधानी पठाउने भएपछि स्थानीयस्तरमा अभाव हुने भन्दै आन्दोलनमा उत्रन बाध्य भएको ग्यास विक्रेता विद्यादेव उप्रेतीले बताए ।
ग्यास विक्रेताको आन्दोलनका कारण ४ बुलेट एलपी ग्यास भन्सार पारी नै रोकिएका छन् ।
यता जिल्ला प्रशासनले बलजफ्ती प्रहरी लगाई ग्यास भन्सार गराई राजधानी पठाउन खोजे कोहलपुर चौराहामा ग्यास बुलेट रोक्ने अर्का ग्यास विक्रेता चेतप्रसाद पाण्डेले बताए ।
ग्यास विक्रेताहरुले २५ प्रतिशत काठमाडौं पठाउनुपर्ने र ७५ प्रतिशत यस क्षेत्रमा राख्नुपर्ने माग गर्दै आएका छन् ।
केशव राना, बाँके