समाचारशुक्रबार, कार्तिक १३, २०७२

उपराष्ट्रपतिमा पुन र यादव भिड्दै

हिमालखबर

nandkishorनेपाल परिवार दलका दयाराम कँडेल र स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले उम्मेद्‌वारी फिर्ता लिएपछि सत्तारुढ गठबन्धनका नन्दकिशोर पुन र नेपाली कांग्रेसका अमियकुमार यादवबीच उपराष्ट्रपति पदमा प्रतिश्पर्धा हुने भएको छ ।

स्वतन्त्र सांसद मुसलमानले कांग्रेसका उमेद्वार यादव र कँडेलले गठबन्धनका उम्मेद्‌वार पुनलाई समर्थन जनाउँदै उम्मेद्‌वारी फिर्ता लिएका छन् । दुई जनाले उम्मेद्‌वारी फिर्ता लिएपछि १४ कात्तिक विहान ११ बजेबाट पुन र यादवबीच चुनावी प्रतिश्पर्धा हुनेछ ।

यादवको प्रस्तावकमा कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ र समर्थकमा ईश्वरी न्यौपाने छन् भने पुनको प्रस्तावकमा एमाले वरिष्ठ नेता झलनाथ खनाल र समर्थकमा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी छन् ।

संसदको अन्तरिम कार्यविधि, २०७२ को दफा ३३ को उपदफा २ बमोजिम उपराष्ट्रपति पदमा बहुमतीय प्रणाली अनुसार निर्वाचन हुँदैछ । विहान ११ बजेदेखि २ बजेसम्म हुने मतदानको नतिजा साँझ ५ बजे सार्वजनिक हुने संसद् सचिवालय अन्तर्गतको निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उमेद्वारी परेदेखि प्रमुख दलहरु विभाजित भएपछि महत्वपूर्ण राजनीतिक पदहरुमा सहमति जु्ट्न सकेको छैन । प्रधानमन्त्री निर्वाचनका बेला ओलीलाई सघाउने गठबन्धन र नेपाली कांग्रेसबीच यसअघि प्रधानमन्त्री र राष्ट्रपति निर्वाचनमा प्रतिश्पर्धा भइसकेको छ ।

सत्तारुढ गठबन्धनमा १४ दल छन् भने प्रधानमन्त्री निर्वाचनमा मधेश केन्द्रित दलहरुको समर्थन पाएको नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा एक्लै उम्मेद्‌वारी दिएको छ । कांग्रेसको उमेद्वारी दर्ता नभएपछि सभामुख र उपसभामुख भने निर्विरोध निर्वाचित भएका थिए ।

संसदमा २०७ सांसद रहेको कांग्रेसका राष्ट्रपति उम्मेद्‌वार कुलबहादुर गुरुङले २१४ मत पाएका थिए भने प्रधानमन्त्रीमा ओलीले पाएको मत राष्ट्रपतिमा विद्यादेवी भण्डारीले कायम राख्न सकेका थिइनन् । प्रधानमन्त्रीमा ओलीले ३३८ मत पाएकोमा राष्ट्रपतिमा भण्डारीले ३२७ मत मात्रै पाएका थिए ।

तर, सत्तारुढ गठबन्धनले उपराष्ट्रपतिमा पुनलाई साझा उम्मेद्‌वार बनाउने १३ कात्तिक विहान बसेको उच्च स्तरीय राजनीतिक समन्वय समितिबाट निर्णय भएपछि लगभग पुन उपराष्ट्रपति निर्वाचित हुने सुनिश्चित देखिन्छ । कांग्रेसका पक्षमा स्वतन्त्र सांसदले उम्मेद्‌वारी फिर्ता लिदै समर्थन जनाउने निर्णय लिएपनि अरु दलहरुले कुनै निर्णय लिएको छैन ।

प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्न आएका मधेश केन्द्रित दलका ४८ सांसदहरु उपराष्ट्रपति निर्वाचनमा आउने संभावना देखिदैन ।

-कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>