समाचारशनिबार, कार्तिक १४, २०७२
चार ट्यांकर केरुङ प्रवेश, हिमापातले गर्दा ढिलाई
नेपाललाई चीन सरकारले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन गएकामध्ये चारवटा ट्याङ्कर केरुङ प्रवेश गरेका छन् ।
नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले केरुङभन्दा २५ किमीमाथि हिमपातका कारण सडक अवरुद्ध हुँदा केरुङ ल्याइसकिएको तेल भर्नका लागि चार ट्याङ्कर मात्र केरुङ पठाइएको जानकारी दिए । आजै साँझ ती ट्यांकरले ३६ हजार लि तेल भरी नेपाल प्रवेश गर्ने छन् ।
तेल भर्न गएका अन्य आठ ट्यांकर आइतबार, १५ कात्तिकमा केरुङ पुग्ने बताउँदै प्रवक्ता बरालले हिमपात पन्छाई सडक खुलाउने कार्य शुरु भइसकेको जानकारी दिए । आइतबारसम्म एक लाख आठ हजार लि तेल नेपाल भित्रने र चीनले उपलब्ध गराउने सबै पेट्रोलियम पदार्थ एक साताभित्र निगमको केन्द्रीय भण्डारमा पुगिसक्ने उनले जानकारी दिए ।
सीमा क्षेत्रमा लाइन लागेर बसेका अन्य आठ ट्यांकर अहिले टिमुरेमा राखिएको छ । प्रवक्ता बराल चार नेपाली ट्यांकर सहित रसुवागढी नाकाबाट आज अपराह्न १ बजे केरुङतर्फ गएका छन् ।
सिगात्से–केरुङ मार्गमा हिमपात भएका कारण औपचारिक तेल हस्तान्तरण गर्ने कार्यमा सहभागी हुने भनिएका चीनका लागि नेपालका राजदूत महेश मास्के र ल्हासाका लागि नेपाली महावाणिज्यदूत हरि बस्याल बीचबाटामै रोकिएको जानकारी आएको पनि बरालले बताए ।
यसैबीच तातोपानीभन्दा रसुवागढी नाकाबाट दीर्घकालीन इन्धनको व्यावसायिक कारोबार गर्न सडक उपयुक्त भएकाले सडकको स्तरोन्नति गर्न सरकारसमक्ष आग्रह गरिने प्रवक्ता बरालले जानकारी दिए ।
रासस