समाचारशनिबार, कार्तिक १४, २०७२
भैरहवा-सुनौली नाकाबाट इन्धनसहितका गाडी धमाधम आउन थाले
देशका अन्य नाकामा अवरोध जारी रहे पनि रुपन्देहीको बेलहिया नाकाबाट भने निर्वाध रुपमा इन्धनसहितका मालबाहक गाडी नेपाल आइरहेका छन् ।
मधेशी मोर्चाले सिमानाका बेलहियामा नाकाबन्दी गर्ने कार्यक्रम राखे पनि भारतीय पक्षले आन्दोलनकारीलाई सहयोग नगरेपछि पछिल्ला दिनमा बेलहिया नाकाबाट दैनिक २०० बढी गाडी नेपाल प्रवेश गरेका छन् ।
यो नाकाबाट मात्रै १२ र १३ कात्तिकमा मात्रै करिब ५० वटा डिजेल र पेट्रोलका गाडी नेपाल प्रवेश गरेको तथा २० वटा बढी ग्यास बुलेट नेपाल आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभयविक्रम शाहले जानकारी दिए ।
उनका अनुसार १३ कात्तिकमा सबैभन्दा बढी ३३ वटा डिजेल, चार वटा पेट्रोलसहित सयौँ गाडी नेपाल आएका थिए ।
त्यसैगरी शुक्रबार १५८ वटा ट्रकसहित २०० बढी मालसहितका सवारीसाधन एवम् बस, पिकअप, अक्सिजनका गाडी आएका छन् ।
निरीक्षक शाहका अनुसार अनुसार आज १४ कात्तिकमा पनि बिहानैदेखि गाडी नेपाल आइरहेका छन् ।
भारतीय पक्षले कुनै पनि अवरोध नगरेपछि सहजरुपमा मालबाहक साधन नेपाल आएको रुपन्देही प्रशासनले जनाएको छ ।
भारतीय नाका सुनौली हुँदै ठूलोमात्रामा डिजेल तथा पेट्रोलका गाडी रुपन्देही आए पनि जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार यथावत् छ ।
सरकारले सम्बन्धित नाकाबाट आएको पेट्रोलियम पदार्थ सम्बन्धित जिल्लामा २५ प्रतिशत राखेर बाँकी काठमाडौं पठाउन गरेको निर्देशनप्रति पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एसोसिएसनका महासचिव हरिराम कसौधनले विज्ञप्ति जारी गर्दै बेलहिया नाकाबाट आएको पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत रुपन्देहीमा राख्नुपर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
