समाचारशनिबार, कार्तिक १४, २०७२
भारतीय प्रहरी बर्दी र हतियारसहित पटक पटक नेपाल प्रवेश

नाकामा धर्ना दिने मोर्चाका नेता-कार्यकर्ताहरुका लागि सीमा पार भारतको रक्सोलमा खाजा-खानाको ब्यवस्था हुने गरेको छ । फाइल तस्वीर: अली असगर
मधेश केन्द्रित दलहरुले धर्ना दिएर वीरगञ्ज–रक्सौल नाका ठप्प पारिरहेकै बेला भारतीय प्रहरी भने हतियारसहित गाडी लिएर नेपाल पस्ने गरिरहेका छन् ।
२ असोजमा एकपटक र १३ कात्तिक बिहान र राति गरी तीनपटक भारतीय प्रहरी हतियार सहित नेपाल प्रवेश गरेका हुन् ।
धर्नास्थल हुँदै मोटरसाईकल, साईकल बाहेकका सवारी साधन आवतजावत गर्न रोक लगाएका मोर्चाका नेता–कार्यकर्ताले भारतीय प्रहरीको गाडीलाई भने हार्दिकतापूर्वक बाटो खाली गरिदिने गरेका छन् ।
वीरगन्ज र रक्सौल नाका बीचको मितेरी पुलमा पाल टाँगेर २४ सै घण्टा धर्ना दिइरहेका आन्दोलनकारीहरुले १३ कात्तिक विहान र राति हतियार र बर्दि सहितका भारतीय प्रहरीलाई बाटो छोडेर वीरगन्ज प्रवेशमा सहयोग गरेका थिए ।
राति करिब आठ बजे बी आर ३३ एम ७६१६ नम्बरको बोलेरो र बि आर ०९ आर ३९५३ नम्बरको स्कार्पियो गाडीमा सवार डिएसपी सहितका भारतीय प्रहरीहरु नेपाल प्रवेश गरेका थिए ।
मितेरी पुल पार गरेर इनर्वा स्थित शंकराचार्यद्वारमा पुगेका भारतीय प्रहरीका दुवै गाडीलाई नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोकेका थिए ।
नेपाल प्रहरीले भारतीय प्रहरीको बर्दि खोल्न लगाएर मात्रै वीरगञ्ज जान दिएको थियो ।
इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरिक्षक पुरुषोत्तम सुबेदीले डिएसपी सहितका भारतीय प्रहरी सवार दुई वटा गाडी शुक्रबार बेलुकी मितेरी पुल हुँदै वीरगन्ज छिरेको पुष्टी गरे ।
उनले भने “एउटा गाडीमा जम्मुकश्मिरका र अर्को गाडीमा मध्यप्रदेशका प्रहरी थिए तर उनीहरुसंग हतियार भने थिएन ।”
प्रहरीको बर्दि लगाएकाहरुलाई खोल्न लगाएर सिभिल ड्रेस लगाएपछि मात्रै छोडेको उनले बताए ।
नेपाल प्रवेश गरेका ती भारतीय प्रहरीहरु वीरगन्जको आदर्शनगरमा किनमेल गरेर शुक्रबार राति नै भारत फर्किएका थिए ।
चेकजाँचका क्रममा नेपाली प्रहरीले सोधपुछ गर्दा भारतीय प्रहरीहरुले वीरगन्ज बजार घुम्न र किनमेलका लागि आएको बताएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी गराए ।
यसअघि १३ कात्तिक बिहान पनि हतियार र बर्दि सहितका भारतीय प्रहरी सवार दुई वटा गाडी मितेरी पुल भएरै वीरगन्ज प्रवेश गरेको इनर्वा प्रहरीले जनाएकोे छ ।
दुई जना डिएसपी सहितका चार जना भारतीय प्रहरी सवार दुवै गाडी मितेरी पुल पार गरेर बिहान वीरगन्ज प्रवेश गरेका थिए ।
हतियार र बर्दिसहित नेपाल छिरेका भारतीय प्रहरीलाई नेपाल प्रहरीले दुई घण्टा राखेर केरकार गरेपछि भारत फर्काइदिएको थियो ।उनीरुको साथमा एके ४७ र एमकेपी गरि दुई वटा अत्याधुनिक हतियार पनि रहेकोले उनीहरुलाई फिर्ता पठाईएको प्रहरीले जनाएको छ ।
धर्ना र नाकाबन्दी जारी रहेकै बेला गत २ असोज राति पनि भारतीय सुरक्षाकर्मी सवार भ्यान सीमापारी रक्सौलाबाट मितेरी पुल हुँदै वीरगन्ज छिरेको थियो ।
मध्यप्रदेशका एसपी अरबिन्द प्रसाद वरकडे सहित पाँच जना बर्दिधारी प्रहरी सवार एम पी ओ ३ ए १९१५ नम्बरको जिप धर्ना जारी रहेको नाका हुँदै वीरगञ्ज प्रवेश गरेको खबर पाएपछि नेपाल प्रहरीले गण्डक चोकमा चेकजाँच गर्दा उक्त गाडीबाट एक थान एके ४७ राइफल र त्यसमा प्रयोग हुने ३० राउण्ड गोली बरामद भएको थियो ।
त्यसपछि नेपाल प्रहरीले गाडीलाई त्यही राति वीरगन्जबाट भारत फर्काइ दिएको थियो ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
