टिप्पणीआइतबार, कार्तिक १५, २०७२

बाटो बिराएको मधेश आन्दोलन

रुबिना महतो


rubeena1मधेश र मधेशीको वास्तविक चाहनाबाट टाढा भएको छ, मधेशमा जारी आन्दोलन ।

मधेशमा जारी आन्दोलन दुःसाध्य बन्दै गएको छ तर समाधान सम्भव छ । मधेशीका गुनासाहरु जायज छन् भन्ने राज्यले स्वीकार गर्नुपर्छ । मधेशी जनताको अधिकार र आत्मासम्मान स्थापित गरिनुपर्छ र राज्यको तर्फबाट भएका हत्या, दमन र यातनाका घटनाहरुको छानबिन गरी त्यसमा जिम्मेवारहरुलाई कानूनको दायरामा ल्याउनु पर्छ ।

संघीय सिमांकनमा परिवर्तन र जनसंख्याका आधारमा प्रतिनिधित्व मधेश आन्दोलनको माग हो भने राज्य यसमा लचिलो बन्नैपर्छ । तर, त्यसअघि मधेशी मोर्चाले हस्तक्षेपकारी शक्तिसँगको साँठगाँठ छोडेर हिंसा त्याग्दै नाकाबन्दी फिर्ता लिनुपर्छ ।

मोर्चाका नेताहरुले बुझनुपर्छ, आफ्नै देशका नागरिकको भन्दा छिमेकीको चासोका लागि बलजफ्ती गरिरहँदा काठमाडौंको सरकार मात्र होइन, ति मधेशी जनताबाट पनि तिरस्कृत हुनुपर्नेछ, जसको प्रतिनिधित्व गरेको उनीहरुको दाबी छ ।

तर के अन्तर्राष्ट्रिय कानून र कुटनीतिक मान्यताहरुको उल्लंघन गरेका र सिद्धान्तको राजनीति त्यागेका मोर्चा र सीमा वारी–पारीका उसका समर्थकहरुलाई यसको मतलब छ ? मोर्चाले आफ्ना माग पूरा गराउन बल, धम्की र बदमाशीको सहारा लिएको छ ।

मधेशमा अहिले जे देखिइरहेको छ, त्यो सरासर ‘ब्ल्याकमेलिङ’ हो । अधिकारका लागि भनिएको आन्दोलन भयावह अपराधमा रुपान्तरित हुँदैछ । अंगिकृत नागरिकताधारीले मुलुकको सर्बोच्च पदमा नियुक्त हुन पाउनुपर्ने माग कसरी मधेशी माग हुनसक्छ ?

आम मधेशीको समर्थन नरहेका र निर्वाचन हारेका केही नेताले हिंसा–आतंकको माध्यमबाट मधेशलाई बन्धक बनाएका छन् ।

विभाजनकारी मनसायले हिंस्रक प्रक्रिया अपनाउने केही स्वार्थी समूहको नियोजित मुद्दाहरुबाट मधेशी अधिकारको जायज माग अपहरित भएको छ भने साम्प्रदायिक घृणा र कट्टरपन्थ प्रोत्साहित भएको छ ।

छर्लंगै छ– मधेशी जनता र मधेशको चाहनाभन्दा टाढा पुग्दैछ, आन्दोलन । आम मधेशी जनता शान्ति र समृद्धिका लागि अधिकार र स्थिरता चाहन्छन, तर मधेशलाई भूराजनीतिक खेल मैदान बनाइएको छ ।

मधेशका जनताले अधिकार, सम्मान र लोकतन्त्रप्रतिको आफ्नो चाहना २ मंसीर २०७० को निर्वाचनमार्फत प्रस्ट पारेका हुन् ।

आफ्नो जीवन र सरोकार नेपालसँगै अन्योन्याश्रित रहेको बुझेका मधेशीहरुले अलगावबादको आह्वानलाई बेवास्ता गर्नेमा कुनै शंका वा भ्रम छैन ।

यद्यपी, क्रुर शक्तिमा विश्वस्त मोर्चाको ब्ल्याकमेलिङ र आतंक जारी छ । तेल बोकेका मानिसलाई ज्यूँदै जलाउने, चलिरहेको बसमा पेट्रोल बम हान्ने, गोली चलाउन प्रहरीलाई उक्साउने, शहादत प्राप्तिका लागि नगद पुरस्कार घोषणा गर्ने र बिदेशीसँग मिलेर नेपाललाई नाकाबन्दी गर्न काम मोर्चाले गरिरहेको छ । यो समूहले मधेशी जनताको प्रतिनिधित्व गर्छ भन्नु खतरनाक धोका हो ।

केही व्यक्ति भारतीय नाकाबन्दीको समर्थन किन गरिरहेका छन् भने उनीहरु नेपालको नयाँ संविधानलाई समर्थन गर्दैनन् । यो विडम्बना हो ।

नेपालले घुँडा टेकेको हेर्न चाहेका उनीहरु नाकाबन्दीबाट लाखौं जनता पीडित हुँदा र केहीले ज्यान गुमाउँदा त्यसलाई सानो मूल्य चुकाएको ठान्छन् ।

मोर्चाका समर्थकमध्येका यी स्वघोषित बुद्धिजिवीहरु तिनै हुन् जसले विगतमा हिंस्रक समूहलाई समर्थन र युद्ध अपराधीहरुले सजाय पाउनुपर्छ भन्ने मागको जोडदार विरोध गरेका थिए ।

हिंसालाई राजनीतिक हतियार ठान्ने उनीहरु सह–अस्तित्व वा कानूनी र राजनीतिक समाधानमा विश्वास गर्दैनन् ।

नेपालको संविधान निर्वाचित प्रतिनिधिमध्ये ९० प्रतिशतको हस्ताक्षरबाट आएको कुराले पनि उनीहरुलाई केहि फरक पार्दैन, किनभने उनीहरुका लागि लोकतान्त्रिक प्रक्रिया केही होइन ।

पछिल्लो समय नेपालमा विभिन्न प्रमुख निकायहरुमा महिला र अल्पसंख्यकहरुको नियुक्त हुनु र समावेशी नीति अनुसार आरक्षण तथा समानुपातिक प्रतिनिधित्व गरिनुले समेत उनीहरुलाई केही प्रभाव पार्दैन ।

तर सत्य के हो भने, परिवर्तन रातारात हुँदैन । संस्थागत पुनर्संरचनाले मानसिकतामा पनि क्रमिक परिवर्तन ल्याउँछ र विभेद हटाउँछ । यो प्रक्रियाले जरा गाड्न भने राजनीतिक स्थायित्व जरुरी छ ।

नयाँ संविधानका त्रुटीपुर्ण र विवादास्पद धारालाई संशोधन गरेर सुधार गर्न सकिन्छ, खासगरेर नागरिकताको सवालमा । तर, पूरै दस्तावेजलाई खारेज गरेर अरु केही दशक राष्ट्रलाई अन्योलमा राख्न खोज्नु चाहीं अपराध हो ।

अहिले बाहिरी शक्तिको प्यादा बनेका मधेशी नेताहरु मधेशी जनता र स्वयम आफैंलाई अपूरणीय क्षति पुर्‌याइरहेका छन् । आशौं गरौं, ‘एक्टिभिष्ट’हरुले यो अपवित्र गठबन्धन तोड्न सकुन् र आन्दोलनमाथि पुनः स्वामित्वग्रहण गरेर नेपाली जनता र नेपाल सरकारबीच ल्याई पुर्‍याउन सकुन् ।

एउटा समूहलाई अर्कोसँग लडाउने अनेक प्रयासका बाबजुद हामी कहिल्यै साम्प्रादायिक देश भएनौं । अब पनि सदभावपूर्ण सह–अस्तित्वमा रहने हरसम्भव प्रयास कायमै राख्नुपर्छ । हामी नेपाली संयमित, संकल्पित र लचिलो बनिरहनुपर्छ ।

देशलाइ गलत बाटो हिडाउँने र क्षति पुर्‍याउने लाई हामीले प्रश्न गरेनौं र औंला ठड्याएनौं। झुट र फरेबको आधारमा हामीलाई ध्रुविकृत बनाउने र देशलाई नाजुक अवस्थामा पुर्‍याउनेहरुलाई अब चाही चिनौं र जवाफदेही बनाऔं ।

मुल लेख अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>