समाचारमंगलबार, कार्तिक १७, २०७२
भैरहवा–सुनौली नाका ठप्प, अन्यबाट इन्धन बाहेकका गाडी मात्रै

फाइल तस्वीर: काकडभिट्टा आउनका लागि भारतको पानीटंकीमा लाम लागेका गाडीहरु ।
१६ कात्तिकमा वीरगञ्ज घटना लगत्तै सीमा नाका सबैतिर ठप्प पारेको भारतले भैरहवा–सुनौली नाका बाहेक अन्य नाका सुचारु गराए पनि इन्धन बोकेका गाडी भने नेपाल भित्रन दिएको छैन ।
भैरहवा–सुनौलीबाट आज १७ कात्तिकमा केही रित्ता ट्रक नेपाल आए पनि अन्य कुनै मालबाहक गाडी आएका छैनन् । पर्यटकका गाडीहरु भने भित्रिइरहेका छन् ।
विराटनगर
हिजो १६ कात्तिक दिउँसो बन्द गरिएको विराटनगर–जोगबनी नाका पनि हिजो साँझैबाट सुचारु छ ।
नाका सुचारु भए पनि आज जोगबनी हुँदै भारतबाट पेट्रोलियम पदार्थका गाडी भने एउटा पनि आएका छैनन् । एसएसबीले अन्य मालबाहक गाडी भने नियन्त्रित रुपमा भित्रिन दिएको छ ।
नेपालगञ्ज
भारतीय सुरक्षा बल एसएसबीले माथिको आदेश भन्दै १६ कात्तिकमा बन्द गराएको नेपालगञ्ज–रुपैडिहा सीमा नाका पनि १७ कात्तिक बिहानैबाट सुचारु भएको छ ।
हिजो साइकल, टाँगा समेत आउजाउ गर्न नदिएको एसएसबीले आज बिहान अवरोध हटाएपछि २ वटा ग्यास र अन्य ३४ वटा मालबहाक सवारीसाधन गरी ३६ गाडी नेपाल भित्रिएका छन् ।
यो नाकाबाट अन्य पेट्रोलियम पदार्थ भने आएको छैन ।
नाका खुलेपछि नेपाली नम्बर प्लेटका गाडीहरु र भारतीय नम्बर प्लेटका गाडीहरु पनि सहज रुपमा आउजाउ गर्न थालेको प्रहरीले जनाएको छ ।
काकडभिट्टा
काकडभिट्टा–पानीटंकी नाकाबाट अन्य गाडीहरु आइरहे पनि एसएसबीले पेट्रोलियम पदार्थ बोकेका गाडीहरु नेपाल आउन दिएको छैन ।
तेल लोड भइसकेका १८ वटा ट्याङ्करलाई एसएसबीले १६ कात्तिक दिउँसोदेखि पानीटंकीमै रोकिराखेको छ ।
काँकडभिट्टाबाट करिब पौने घण्टाको दुरीमा रहेको न्युजलपाईगुढी डिपोबाट पेट्रोलियम पदार्थ भरेका डिजेलका १३ वटा र पेट्रोलका ५ वटा ट्यांकरलाई छिटो नेपाल ल्याउन काँकडभिट्टा भन्सार र जिल्ला प्रशासन कार्यालय झापाका अधिकारी भारतीय समकक्षीहरुसँग समन्वयमा रहेको बताइएको छ ।
वीरगञ्ज घटनापछि भारतीय सुरक्षा अधिकारीले ‘जाँच’को नाममा एउटा गाडी जाँच्न मात्रै दुई घण्टाभन्दा बढी समय लगाइरहेको सीमामा रहेका नेपाली अधिकारीहरुले जानकारी दिएका छन् ।
यसैबीच भारतीय आयल निगमले १७ कात्तिकमा न्युजलपाईगढी डिपोमा इन्धन भर्नका लागि पाँचवटा मात्रै ट्यांकर मगाएको आयल निगम झापाका प्रमुख बासुदेब भण्डारीले बताएका छन् ।
उनका अनुसार एउटा पेट्रोल र चारवटा डिजेल ट्यांकर भर्न बोलाइएका छन् ।
यसअघि सोमबारदेखि शुक्रबारसम्म दैनिक करिब १२ वटा जती ट्यांकरलाई जलपाइगुढीबाट इन्धन दिने गरिएको थियो ।
वीरगञ्ज-रक्सौल नाका भने गत ४० दिनदेखि नै ठप्प छ ।
वीरगञ्जमा १६ कात्तिकमा भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोलीबाट भारतीय नागरिकको मृत्यु भएलगत्तै भारतले सीमा नाकाहरु बन्द गरेको थियो ।
वीरगञ्ज–रक्सौल सीमाको दशगजामा पाल हालेर धर्ना दिइरहेका प्रदर्शनकारीलाई १६ कात्तिक विहान नेपाल प्रहरीले हटाएपछि नेपालमा रहेका भारतीय ट्रक सहजै भित्र्याएको भारतले उता रहेका ट्रक भने नेपाल आउन दिएको थिएन ।
नेपालबाट भारतीय ट्रक पारी जाँदा सीमामा सुरक्षा दिइरहेका एसएसबीका अधिकारीहरु आफ्ना गाडी भित्र्याइसकेपछि एक्कासी त्यहाँबाट हटेका थिए भने आन्दोलनकारी फेरि दशगजामा जम्मा भएर प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।
प्रदर्शनकारीले इनर्वा प्रहरी चौकीमाथि समेत आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोली लागि आन्दोलनमा सहभागी भारतीय नागरिकको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
-गोपाल गडतौला, काकडभिट्टा/कमल रिमाल, बिराटनगर/दीपक ज्ञवाली, बुटवल/केशव राना, नेपालगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
