समाचारमंगलबार, कार्तिक १७, २०७२
निगमद्वारा इन्धन वितरणका लागि सवारी साधनको बर्गीकरण
नेपाल आयल निगमले इन्धन वितरण सहज बनाउन भन्दै तोकिएको बर्गीकरण अनुसार इन्धन उपलब्ध गराउने भएको छ ।
मोटरसाइकल, कार, जीपलगायतका निजी सवारी साधनलाई तिहार र छठ पर्वलाई ध्यानमा राखेर इन्धन उपलब्ध गराउन लागिएको हो ।
निगमले यही कात्तिक १९ गते बा १ प देखि बा ३० प सम्म, मोटरकार र जीप बा १ च देखि बा ५ च सम्म इन्धन उपलब्ध गराउनेछ ।
यस्तै, कात्तिक २० गते बा ३१ पदेखि बा ५० प सम्म र मोटरकार र जीपका हकमा बा ६ च देखि बा ८ चसम्म इन्धन उपलब्ध गराउनेछ ।
कात्तिक २१ गते बा ५१ प माथिका सबै मोटरसाइकललाई इन्धन उपलब्ध गराउने योजना अगाडि सारेको निगमले सोही दिन बा ९ चदेखि माथिका सबै मोटरकारलाई इन्धन उपलब्ध गराउने जनाएको छ ।
काठमाडौँ उपत्यकाका सबै पेट्रोल पम्पबाट इन्धन उपलब्ध गराइने निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए ।
ग्यासको विवरण उपलब्ध गराउन उद्योगीलाई निर्देशन
सरकारले भारतबाट आयात गरिएका खाना पकाउने ग्यासको परिमाणसहितको विवरण नेपाल आयल निगमलाई उपलब्ध गराउन ग्यास उद्योगीलाई निर्देशन दिएको छ ।
खाना पकाउने ग्यासको चरम अभाव भएपछि वितरणलाई प्रभावकारी बनाउन त्यसखालको व्यवस्था गरिएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यास उद्योगीलाई कति परिमाणमा ग्यास आयात भएको हो, त्यसको बिक्री तथा वितरण गर्ने प्रणालीसमेत उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले भारतबाट नेपाल पैठारी हुने ग्यास बुलेटको परिमाण, सम्बन्धित ग्यास उद्योगको नाम, रिफिलिङ गरिने मिति, वितरण गरिने डिलर, बिक्रेता र वितरकको नामसमेत उल्लेख भएको विवरण सम्बन्धित ग्यास उद्योगले नेपाल आयल निगममा खडा गरिएको नियन्त्रण कक्षमा नियमितरुपमा जानकारी गराउन उद्योगीलाई निर्देशन दिएको हो ।
मन्त्रालयले नियमितरुपमा जानकारी गराउन ४२६३४९९ नम्बरको फ्याक्ससमेत उपलब्ध गराएको छ । नियमितरुपमा जानकारी नगराइए कडा कारवाही गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले उद्योगीले उद्योगबाटै ग्यास वितरण गर्न थालेपछि सो व्यवस्था गरिएको जानकारी दिए ।
खाना पकाउने ग्यासको अनियमितता भएको, उद्योगबाटै ग्यास सिलिन्डर बिक्री गरिएको, बिक्रेता तथा बिक्री केन्द्रले नपाएको, समानुपातिक वितरण नभएको पाइएपछि सरकारले उच्चस्तरीय संयन्त्र खडा गरिएको त्रिपाठीले बताए ।
यस्तै, सरकारले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशकको संयोजकत्वमा छ सदस्यीय इन्धन व्यवस्थापन संयन्त्र तयार गरेर उपलब्ध इन्धनको न्यायोचित वितरण गर्न लागेको छ ।
सो संयन्त्रमा नेपाल प्रहरीको प्रतिनिधि सदस्य रहनेछन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले मुलुकभर ५३ वटा ग्यास उद्योग रहेका र ती उद्योगले आयात गरेका ग्यासको परिमाण सरकारलाई जानकारी गराएर बिक्री केन्द्रबाटै वितरण गरिने बताए ।
काठमाडौँ उपत्यकामा हाल ६ हजारभन्दा बढी ग्यास बिक्री गर्ने डिलर छन् । मुलुकभर करिब ६२ लाख सिलिण्डर प्रचलनमा छन् । मासिक २० लाख सिलिण्डर ग्यासको खपत हुने गरेको छ ।
राजधानीमा मात्रै दैनिक ५० हजार सिलिण्डर ग्यासको माग छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
