समाचारमंगलबार, कार्तिक १७, २०७२

हामीले एमाओवादी छोडेकै हो: रामरिझन यादव

हिमालखबर

एमाओवादीभित्र बाबुराम भट्टराई पक्षधर भनेर चिनिएका  नेता रामरिझन यादवले आफू लगायत ४५ जना नेताले एमाओवादी परित्याग गरेको बताएका छन् ।

उनले एमाओवादीको केन्द्रीय समितिमा रहेका ४५ जनाले सामूहिक रुपमा राजीनामा दिएको र आजदेखि एमाओवादीमा नरहेको बताए ।

नयाँ संविधान जारी भएलगत्तै एमाओवादीका नेता बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणमा लाग्ने बताउँदै पार्टी परित्याग गरेका थिए ।

‘‘एमाओवादीको साधारण सदस्य समेत परित्याग गरेका छौँ, पार्टीले तराई मधेशका विषयमा प्रस्ट अवधारणा ल्याउन सकेन, सबै पक्षको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा पार्टी नेतृत्व नेकपा एमालेसँग लहसियो”– यादवले भने ।

यसअघि यादव लगायत एमाओवादीका नेता देवेन्द्र पौडेलको नेतृत्वमा गएका ४५ नेताहरुले पार्टी कार्यालयका मुख्यसचिव हितराज पाण्डेमार्फत अध्यक्ष पुष्पकमल दाहालसमक्ष निवेदन दर्ता गराएका थिए।

पाण्डेले नयाँ शक्ति निर्माणको बहसमा भाग लिन पाऔँ भन्दै अध्यक्षलाई सम्बोधन गरेर निवेदन दर्ता गराइएको तर निवेदनमा उल्लेख गरिएको विषय बारे भने आफूले अध्ययन गर्न नपाएको बताए ।

मुलुक भारतको अघोषित नाकाबन्दीका कारण समस्यामा परेको बेला पार्टीलाई एकीकृत बनाएर अगाडि जानुपर्नेमा बाबुराम भट्टराई पक्षीय नेता भन्दै निवेदन दर्ता गराउनु र बहसमा भाग लिन पाऔँ भन्नु गलत भएको पनि उनले बताए ।

राजीनामा होइन: पौडेल
तराई मधेशको समस्या समाधान नगरी संविधान जारी गरिएको र विगतदेखि नै पार्टीभित्र आफूहरुले उठाएको विषयलाई पार्टी नेतृत्वले ध्यान नदिएको भन्दै नयाँ शक्ति निर्माणको बहसमा सामेल भएको नेता पौडेलले जानकारी दिए ।

उनले आफूहरुले तत्काल पार्टी भने नछाडेको बताउँदै बहसमा भाग लिन पाऔँ भनेर मात्र निवेदन दर्ता गराएको बताएका छन् ।

यसरी सामूहिक निवेदन दर्ता गराउनेहरुमा  हिसिला यमी, रामचन्द्र झा, रामकुमार शर्मा खिमलाल देवकोटा, देवेन्द्र पराजुली, कल्पना धमला, कुमार पौडेल, गङ्गानारायण श्रेष्ठ, राजेन्द्र किरातीलगायत ४५ जना छन् ।

तर नेता प्रभु साहले भने आफू सो समूहमा नरहेको बताएका छन् ।

पार्टी परित्याग गरेको बताउनेमा सांसद भने कोही पनि छैनन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>