समाचारमंगलबार, कार्तिक १७, २०७२
आयल निगमले पेट्रोचाइनासँग मूल्यसूची माग्यो
नेपाल आयल निगमले चिनियाँ पेट्रोलियम कम्पनी पेट्रो चाइनासँग पेट्रोलियम पदार्थको मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको छ ।
निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आज, १७ कात्तिकमा पेट्रो चाइनालाई एक पत्र पठाएर व्यवसायिक कारोबारका लागि इन्धनको मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको जानकारी दिए ।
उनले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्न सकिन्छ भन्ने प्रमाणित भएपछि थप प्रक्रिया अगाडि बढाउन लागिएको बताए ।
केरुङ नाकाबाट चीनले उपलब्ध गराएको पेट्रोल आयात गर्न नेपाली ट्याङ्कर आज पनि त्यसतर्फ लागेका छन् ।
आज १२ वटा ट्याङकर केरुङ्तर्फ लागेको निगमले जनाएको छ ।
भारतले नाकाबन्दी गरेपछि वैकल्पिक स्रोतको खोजीमा लागेको निगमले चीनबाट अनुदानमा प्राप्त १३ लाख लिटर पेट्रोल ल्याउन थालेको छ ।
चीनबाट ल्याइएको पेट्रोल निगमको थानकोटको भण्डारण डिपोमा भण्डारण गरिएको छ ।
चीनका लागि नेपाली राजदूत महेशमान मास्के नेतृत्वको टोलीले केहीदिन पहिले पेट्रो चाइनासँग इन्धन आयात गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता गरेको थियो ।
चीनबाट निगमले कुल खपतको ३३ प्रतिशत इन्धन आयात गर्ने सम्झौता गरेको थियो ।
सो सम्झौता भएपछि निगमलाई चीनले अनुदानस्वरुप १३ लाख लिटर इन्धन अनुदानमा उपलब्ध गराएको थियो ।