समाचारबुधबार, कार्तिक १८, २०७२
वीरगञ्जमा साढे १० घण्टा कर्फ्यू खुल्ला, माईस्थानमा झडप
वीरगन्जमा १६ कात्तिक दिउँसोदेखि लगाएको कर्फ्यू स्थानीय प्रशासनले आज साढे १० घण्टाका लागि हटाएको छ ।
१७ कात्तिक बिहान अढाई घण्टा (बिहान साढे ८ः३० देखि ११ बजेसम्म) हटाइएको कर्फ्यु पटक पटक सूचना गरी ७ बजेसम्म हटाइएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले स्थिति हेरेर कर्फ्यू हटाउने निर्णय गर्दै आएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
यसअघि बिहान ८.३० बजे देखि बिहान ११ बजे सम्म मात्रै कर्फ्यु हटाईएको जानकारी दिएको जिल्ला प्रशासन कार्यालयले त्यसपछि पटकपटक तीनवटा सूचना जारी गरी खुला समय ७ बजेसम्म तन्काएको हो ।
कर्फ्यू फिर्ता भएसँगै वीरगञ्जमा सर्वसाधरणको चहलपहल देखिएको छ । मानिसहरुले दुई दिनदेखि थाती राखेका कामहरु धमाधम गरिरहेका छन् । बजारमा रिक्सा, टाँगा, साईकल मोटरसाईकलको चहलपहल देखिएको छ । कफ्र्यु खुलेको मौका छोपेर तरकारी लगायत अत्यवश्यक सामाग्री खरिद गरेर ल्याएको वीरगञ्ज श्रीपुरका धिरेन्द्र साहले बताए ।
बिहान वीरगन्जको मुर्ली, बाईपास लगायतका स्थानमा आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले नारावाजी सहित जुलुश प्रदर्शन गरेको भएपनि त्यहाँ तैनाथ सुरक्षाकर्मीले आन्दोलनकारीहरुलाई हटाएको छ । चोक चोकमा सुरक्षकर्मीहरु परिचालन गरिएको छ ।
सुरक्षाकर्मीहरुले आन्दोलनकारीहरुलाई मुख्य सडकमा आउन दिएका छैनन् ।
१६ कात्तिकमा प्रहरीले बल प्रयोग गरेर नाका खुलाएको विरोधमा आन्दोलनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लगाएको थियो ।
यसैबीच वीरगञ्जको माईस्थानमा भने प्रहरी र आन्दोलनकारीबीच झडप भैरहेको छ ।
सुरेश बिडारी, वीरगञ्ज