समाचारबुधबार, कार्तिक १८, २०७२
सरकार र आन्दोलनरत पक्ष दुबै गैर–जिम्मेवारः कांग्रेस
मधेशमा जारी आन्दोलनलाई निकास दिनका लागि सरकार र आन्दोलनरत पक्ष दुवै गैर–जिम्मेवार रुपमा प्रस्तुत भएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
दुबै पक्षबाट गैर–जिम्मेवारपूर्ण अभिव्यक्तिहरू आइरहेको भन्दै काँग्रेसले तराईको समस्या समाधान गर्न सरकारलाई र राष्ट्रियताको सवालमा गम्भीर हुन आन्दोलनरत पक्षलाई आग्रह गरेको हो ।
४ दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकबारे जानकारी दिंदै काँग्रेस प्रवक्ता दिलेन्द्र बडुले मधेशको समस्या समाधानका लागि कांग्रेसले पार्टीभित्रै उच्चस्तरीय समिति गठन गर्ने बताए ।
राष्ट्रियताको सवालमा आन्दोलनरत दलहरूभन्दा बाह्य शक्ति हावी हुने अवस्था आएको भन्दै उनले मुलुकको हितका लागि सबै दलहरू एकढिक्का हुनुपर्ने बताए ।
जनताको दैनिकी मात्रै नभएर औषधी, स्वास्थ्य उपकरण र अक्सिजनको समेत अभाव हुँदै गएको भन्दै कांग्रेसले समस्या समाधानका लागि छिमेकी भारतसँग यसबारे कुरा गर्ने जनाएको छ ।
प्रवक्ता बडुले भने, “हाल मुलुकमा देखिएका समस्यालाई गम्भीरतापूर्वक लिएर प्रतिपक्ष र संसदको सबैभन्दा ठूलो दलका हैसियतले समाधानका लागि कांग्रेसले पहल गर्छ ।”
चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिको पछिल्लो अवस्था र यसमा कांग्रेसको दृष्टिकोण तथा पार्टीको आसन्न महाधिवेशनबारे छलफल भईरहेको छ ।
कपिल भट्ट, काठमाडौं