थप समाचारबिहीबार, कार्तिक १९, २०७२
नाकाबन्दीले नेपालमा मानवीय संकटः अमेरिका
नेपालस्थित अमेरिकी दूतावासले नेपाल–भारत सीमामा भएको अवरोधले नेपालमा इन्धन, औषधि र खाद्द सामाग्रीको अभाव भएकोमा आफ्नो गम्भीर चासो रहेको जनाएको छ ।
१९ कात्तिकमा सार्वजनिक वक्तव्य जारी गर्दै अमेरिकाले हिउँद शुरु हुने बेला नाकाबन्दीले गर्दा दातृ निकायले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा आवास निर्माणका सामाग्री पुर्याउन नसकेको जनाएको छ ।
उसले सीमामा अवरोध जारी रहे नेपालमा मानवीय संकट आउनेतर्फ सचेत गराउँदै चिन्ता व्यक्त गरेको छ ।
“नेपालमा जारी संकट समाधानका लागि संयुक्त राज्य अमेरिका सम्बन्धित सबै पक्षलाई आफ्ना प्रयास दोब्बर बनाउन आग्रह गर्दछ,” वक्तव्यमा उल्लेख छ ।
सबै नेपालीका आकांक्षालाई संविधानले समेट्न सकोस भन्दै अमेरिकी दूतावासद्वारा जारी वक्तव्यमा अर्थपूर्ण राजनीतिक संवादको सकारात्मक वातावरण बनाउने कार्यमा योगदान दिन समेत सबै पक्षलाई आग्रह गरिएको छ ।
‘नेपाली जनता र नेपाल सरकार लोकतन्त्रको बाटोमा अघि बढिरहेको र वैशाखको भूकम्पपछि पूनर्निर्माणमा जुटिरहेका बेला अमेरिका सहयोगका लागि तयार रहेको वक्तव्यमा भनिएको छ ।