समाचारबिहीबार, कार्तिक १९, २०७२
चीनसँगका थप नाका सञ्चालन गरिने, दुई सुख्खा बन्दरगाह चाँडै बनाइने
नेपाल–चीन सीमा क्षेत्रमा रहेका भन्सार कार्यालयलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नेपाल र चीनका अधिकारी सहमत भएका छन् ।
व्यापार सहजीकरण र भन्सार प्रक्रिया सरलीकरणसम्बन्धी नेपाल र चीन (ल्हासा) का भन्सार प्रशासनका अधिकारीहरूको काठमाडौंमा सम्पन्न बैठकमा त्यस्तो सहमति भएको हो ।
नेपाल–चीन सिमानामा रहेका भन्सार कार्यालयको सञ्चालनमा थप प्रभावकारिता ल्याउन उच्च पदाधिकारीहरू सम्मिलित संयुक्त टोलीले प्रभावकारिता अध्ययन गरी अन्य भन्सार कार्यालय थप प्रभावकाररुपमा सञ्चालन गर्ने सहमति भएको भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीले बताए ।
बैठकमा भएको सहमतिअनुसार सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन सुक्खा बन्दरगाहको शीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन र रसुवाको टिमुरेमा निर्माण गर्ने सुक्खा बन्दरगाहको शीघ्र निर्माण आरम्भ गर्न चिनियाँ पक्षले सम्बन्धित निकायसँग समन्वय गर्ने भएको छ ।
त्यसैगरी नेपाल र चीनबीचको व्यापारको प्रमुख नाकाको रुपमा रहँदै आएको तातोपानी नेलामु नाकालाई उच्च प्राथमिकताका साथ सम्भाव्य विकल्पको उपयोग गरी शीघ्र सञ्चालन गर्न नेपालले गरेको अनुरोधलाई चीनले उच्च प्राथमिकता दिने भएको छ ।
बैठकमा रसुवाको केरुङ नाकालाई थप व्यवस्थित गर्न सबै सरोकारवालासँग नियमित बैठक गरी स्थानीय समस्या समाधान गर्न तथा नेपाली व्यापारी, ट्रक चालकलाई केरुङसम्म पुग्ने व्यवस्था मिलाउन चीनको अध्यागमन विभागलाई अनुरोध गर्न पनि चिनियाँ पक्ष सहमत भएको जानकारी उनले दिए ।
त्यसैगरी चीनबाट नेपाल निर्यात हुने खाद्य र पेय पदार्थको ‘लेबल’मा उत्पादन मिति, उपभोग गर्न सकिने मिति, मिश्रण सामग्रीलगायत आवश्यक सूचना नेपाली वा अङ्ग्रेजीमा लेखेरमात्र निर्यात गर्ने व्यवस्था मिलाउन चीनका उत्पादनकर्ता, व्यापारी र सम्बद्ध निकायलाई चिनियाँ टोलीले अनुरोध गर्ने भएको छ ।
बैठकमा अवैध व्यापार हुन नदिन दुवै देशका भन्सार कार्यालयले सूचना आदानप्रदान गर्ने, नेपाली ‘क्वारेन्टाइन’ प्रमाणपत्र चीन सरकारद्वारा स्वीकृत गराउन सम्बन्धित निकायसँग शीघ्र छलफल गर्न पनि चिनियाँ टोलीले सहमति जनाएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका उपमहानिर्देशक रेग्मीले बताए ।
“नेपाल र चीनबीचको समयमा भएको फरकले नेपाल र चीनको भन्सार कार्यालय खोल्ने र बन्द गर्ने कार्यमा एकरुपता नहुँदा भन्सार जाँचपास समयमा समस्या भएकाले भन्सारसँग सम्बद्ध अन्य निकायसँग समेत छलफल गरी सकारात्मक परिणाम निकाल्न पहल गर्ने विषयमा चिनियाँ वार्ता टोली सहमत भएको छ,” उनले भने ।
भूकम्पका कारण दुवै देशका भन्सार कार्यालय सञ्चालन हुन नसकेको अवस्थामा सम्पर्कका माध्यमलाई अझ व्यवस्थित गरी भन्सार कार्यालयहरु शीघ्र सञ्चालन गर्ने वातावरण बनाइने भएको छ ।
बैठकमा चिनियाँ पक्षको नेतृत्व ल्हासा भन्सारका उपमहानिर्देशक लङ चेङवीले गरेका थिए ।