समाचारशुक्रबार, कार्तिक २०, २०७२
आन्दोलनकारीका लागि रक्सौलमा ‘मेस’ पुनः सञ्चालन

तस्वीर: सुरेश बिडारी
वीरगन्ज–रक्सौल सीमामा धर्नामा बसेका मधेशी मोर्चाका नेता–कार्यकर्ताहरुका लागि रक्सौलमा ‘मेस’ पुनः सञ्चालनमा आएको छ ।
१६ कात्तिकमा वीरगञ्जमा भएको प्रदर्शनमा प्रहरीको गोलीबाट भारतीय नागरिकको मृत्यु भएपछि बन्द भएको मेस १९ कात्तिक साँझदेखि पुनः सञ्चालनमा आएको हो ।
भारतले नाकाबन्दी शुरु गरेकै दिनदेखि रक्सौलका ब्यापारी महेश अग्रवालको गोदाम परिसरमा नेपालका आन्दोलनकारीलाई निशुल्क खाना र खाजाको प्रवन्ध गर्न मेस सञ्चालमा थियो । आन्दोलनकारी विहान र बेलुकाको खाना रक्सौलमा अग्रवालको मेसमा खान्थे भने दिउँसोका खाजा दशगजाको धर्नास्थलमै ल्याइन्थ्यो ।
१६ कात्तिकमा भारतीय नागरिकको मृत्यु भएपछि रक्सौलबासीको दबाबमा उक्त मेस बन्द गराइएको थियो भने धर्नाकारीमाथि भारतीय नागरिकले आक्रमण समेत गरेका थिए ।
अहिले मोर्चाका नेताहरुले महेश अग्रवाल लगायत भारतीय पक्षसँग छलफल गरेपछि मेस पुनः सञ्चालनमा आएको हो । १९ कात्तिक राति करिब तीनसय जना मोर्चाका नेता कार्यकर्ताले अग्रवालकै मेसमा खाना खाएका छन् ।
ब्यापारी अग्रवालले धर्ना कायम रहँदासम्म रक्सौलमा निशुल्क खाना–खाजाको प्रवन्ध भइरहने बताएका छन् ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
