समाचारबिहीबार, मंसिर ७, २०६९

प्रमको सन्देशबारे विपक्षी नेताहरु के भन्छन ?

सञ्जीव शर्मा

हिमालखबरसँग ७ मंसीर बेलुका कुरा गर्दै उनीहरुले प्रधानमन्त्री भट्टराई आफैंले ७ मंसीरका लागि घोषणा गरेको निर्वाचन गराउन नसक्नुको जिम्मेवारीबाट पञ्छिएर सबै दोष विपक्षीहरुमाथि लगाउँदै भ्रम छरेको आरोप लगाएका छन् ।

साँच्चिकै मुलुकको संकटलाई निकास दिन र सहमति गर्न चाहेको भए प्रधानमन्त्रीले आफूले घोषणा गरेको चुनाव गराउन नसकेको नैतिक जिम्मेवारी लिंदै राष्ट्रपतिलाई नयाँ सरकार गठनका लागि सिफारिस गर्नुपर्ने दलका नेताहरुले बताएका छन् ।

कांग्रेसले कुनै महत्व दिएको छैनः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सन्देशमा पूरानै कुरा दोहोर‍्याएको र कांग्रेसले यसलाई महत्व नदिएको प्रतिक्रिया दिए । “बोलीमा सहमति र मार्गप्रशस्तका कुरा धेरै पटक भइसके तर, उनले बोलेको पूरा गर्दैनन्,” पौडेलले भने, “ सहमति गर्नुपर्ने बेला अनेकौं शर्त राख्छन् ।”

“सन्देशमा सरकार आफैंले घोषणा गरेको निर्वाचन गराउन नसक्नुको नैतिक जिम्मेवारी लिएका छैनन्,” उपसभापति पौडेलले प्रष्ट पारे, “साँच्चिकै सहमति चाहेको भए निर्वाचन गराउन नसक्नुको नैतिक जिम्मेवारी लिंदै राष्ट्रपतिसमक्ष सहमतिको सरकारका लागि आह्वान गर्न सिफारिस गर्नुपर्थ्यो ।”

प्रधानमन्त्री भट्टराईको सन्देश सत्तामा टिक्नका लागि गरिएको प्रपञ्चमात्रै भएको पौडेलको भनाई थियो ।

प्रधानमन्त्री कार्यकारी प्रमुखको भूमिकाबाट पञ्छिएः शंकर पोखरेल

नेकपा एमालेका सचिव शंकर पोखरेलले प्रधानमन्त्रीको सन्देश ‘फेस सेभिङ्’ मात्रै भएको बताए ।

“आफैंले घोषणा गरेको निर्वाचन गराउन नसक्नु र संविधान निर्माण नहुनुको दोषसमेत प्रतिपक्षलाई लगाएर आफू राजनीतिबाट नै अलग भएको जस्तो कुरा आएको छ,” सचिव पोखरलले भने, “ मुलुकको कार्यकारी प्रमुख हुनुको भूमिका र जिम्मेवारीबाट भट्टराई पञ्छिएका छन् ।”

पार्टी कामका क्रममा कर्णाली पुगेका पोखरेलले हिमालखबरसँग टेलिफोनमा कुरा गर्दै भने, “मैले समाचार भर्खरै सुनें तर, यो सन्देशको कुनै अर्थ छैन ।”

आफ्ना कमजोरीहरुको आत्मालोचनासम्म पनि प्रधानमन्त्रीले नगरेको भन्दै पोखरेलले सहमतिका लागि प्रधानमन्त्री भट्टराईले आफ्ना कमजोरीहरु स्वीकार्दै राष्ट्रपतिसमक्ष सहमतिको सरकारका लागि आह्वान गर्न सिफारिस गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीलाई विश्वास गर्नु मुर्खता होः प्रकाशचन्द्र लोहनी

राष्ट्रिय जनशक्ति पार्टीका सह–अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीको सन्देशको कुनै तुक नभएको प्रतिक्रिया दिएका छन् । उनले भने, “यो सन्देश किन र कसका लागि आएको हो मैले त बुझ्नै सकिन ।”

प्रधानमन्त्री बाबुराम भट्टराईका कुरामा विश्वास गर्नु मुर्खताबाहेक अरु केही नहुने भन्दै उनले प्रधानमन्त्रीले संधै दोहोर‍्याईरहने कुरा सन्देशमा उल्लेख गरेको बताए । उनले थपे, “ यो सन्देश विपक्षी र जनतालाई अलमलमा पारेर आफ्नो सत्ता टिकाउने बहानामात्रै हो ।”

लोहनीले प्रधानमन्त्रीलाई गल्ती र कमजोरीको बोध नभएको ‘निर्लज्ज’ भएको आरोपसमेत लगाएका छन् ।

यो सबै बकवास होः चित्र बहादुर केसी

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूले माओवादी नेताहरुका कुरामा कहिल्यै विश्वास नगरेको भन्दै प्रधानमन्त्रीको सन्देशलाई बकावसको संज्ञा दिएका छन् ।

“यो अलोकतान्त्रिक, असंवैधानिक र अनैतिक तरिकाले सत्ता लम्बाउने खेलमात्रै हो,” केसीले भने, “यो सरकारले बैशाखमा पनि चुनाव गराउँदैन ।” सत्ता गठबन्धनप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष केसीले थपे, “मधेशका केही सामन्त र जमिन्दारसँग मिलेर एमाओवादी सत्ताको स्वादमा रमाएको छ ।”

“यिनीहरुले राष्ट्रियता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई विक्री गरेरै भए पनि सत्तामा बस्छन र अधिनायकवादी शासन चलाउँछन्,” केसीले आरोप लगाए ।

एमाओवादीले सबै लाज पचाइसकेको र सत्ता सुखका लागि ‘जनयुद्ध’ को नाटक रचेर नेपाली जनतासामू झूठो बोलेको केसीले आरोप लगाए ।
उनले अब आन्दोलन गरेरै सरकारलाई अपदस्थ गर्नुको विकल्प नभएकोमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>