समाचारशुक्रबार, कार्तिक २०, २०७२

छिमेकीको घाँटी अँठ्याउने कस्तो मित्रता: प्रधानमन्त्री

हिमालखबर

kpoliप्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट पीडित नेपालमाथि नाकाबन्दी गरेर छिमेकी मुलुकले अमानवीय व्यवहार गरेको बताएका छन् ।

प्रधानमन्त्री नियुक्त भएकोमा ओलीलाई बधाई दिन सिंहदरबार पुगेको नेपाल पत्रकार महासङ्घको टोलीसँगको कुराकानीमा उनले भने, “भूकम्पबाट ठूलो क्षति भई नेपाली मर्माहत भएको बेलामा पेट्रोलियम पदार्थ नदिने, निर्माणलाई असहयोग र अवरोध गर्ने, चुलो बल्न नदिने  जस्ता काम छिमेकीबाटै भएको छ ।”

मित्रलाई दुःख परेको र घाइते भएको बेला खान नदिएर घाँटी अँठ्याउने काम भएको भन्दै ओलीले यस्तो आश्चर्यजनक मित्रताको परिभाषा खोज्नु परेको बताए ।

उनले भने, “अत्यन्तै लोकतान्त्रिक संस्थाबाट, लोकतान्त्रिक प्रक्रिया पूरा गरेर, प्रत्येक दफा र धारामा छलफल गरेर दुई तिहाइले पास गरेर संविधान बनाएको हो । यो संविधान हामी आफूले, आफ्ना निम्ति, बनाएका हौं, कसैका विरुद्ध नभएकाले अरूले आपत्ति गर्नुपर्ने स्थिति थिएन ।”

उनले  नाकाबन्दीले नेपालीको आँखा खोलिदिएको भन्दै जनतामा अहिले असाधारण राष्ट्रवाद र देशप्रेम प्रकट भएको पनि बताए । भने, “विकल्प खोजेर मुलुकसामु देखिएको सङ्कट समाधान गर्नुपर्ने अवस्था छ, महान् मित्रताको परिणाम नेपालले नाकाबन्दीबाट रु पाँच खर्बभन्दा बढी क्षति भोगिसकेको छ ।”

नयाँ संविधानका बारेमा प्रश्न उठाउनेसँग उनीहरुको संविधानभन्दा नेपालको संविधान कुन अर्थमा कहाँ पछाडि छ भन्ने बहस गर्न चुनौति दिंदै प्रधानमन्त्री ओलीले भने, “तराईको समस्या सुल्झाउनका लागि संवाद गर्न तयार छौँ, शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान खोज्छौं । संवाद जारी छ, वार्ताबाट समाधान खोज्ने हाम्रो नीति र प्रयास हो, हामी त्यसै बाटोबाटै अघि जान्छौँ ।”

उनले इन्धनको अभावले मानवीय सङ्कटको स्थिति बनिरहेकाले अरू विकास र सुधारको पक्षमा धेरै ध्यान दिन नपाएको र नसकिएको बताए ।

अहिले राष्ट्रिय एकता र राष्ट्रियताको भावना चाहिएको भन्दै  प्रधानमन्त्री ओलीले मुलुक अप्ठेरोमा रहेको बेलामा सबैबाट देशप्रेम प्रकट हुनुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>