खेलकुदशुक्रबार, कार्तिक २०, २०७२
डेभिड बेकह्यामले भक्तपुरमा फुटबल खेले (तस्वीरहरु)
चर्चित बेलायती फुटबल खेलाडी डेभिड बेकह्याम नेपाल आएर भक्तपुरका बालबालिकासँग टेबुल टेनिस र फुटबल खेलेका छन् ।
काठमाडौं विमानस्थलमा उत्रिएपछि उनी सोझै भक्तपुर सल्लाघारी पुगे । सल्लाघारीबाट टेम्पोमा चढेर दरबार क्षेत्रमा रहेको पद्म उच्च मावि गएका बेकह्यामले त्यहाँका बालबालिकासँग केही बेर टेबुल टेनिस पनि खेले ।
भूकम्पबाट क्षति पुगेका घरहरुको समेत अवलोकन गरेका बेकह्याम न्यातपोल मन्दिर परिषरको इँटा छापेको आँगनमा करिब २० मिनेटजति बालबालिकासँग फुटबल खेले ।
२० कात्तिक विहान साढे ११ बजे चार्टर फ्लाइटबाट काठमाडौं आइपुगेका बेकह्याम सात महादेशमा सात वटा फुटबल खेलमा सहभागी हुने योजना अन्तर्गत काठमाडौं आइपुगेका हुन् ।
युनिसेफका सद्भावना दूत समेत रहेका बेकह्याम ‘बालिका सशक्तिकरणका लागि फुटबल’ भन्ने युनिसेफको कार्यक्रम अन्तर्गत नेपाल आएका हुन् जसको छायाँकन गरेर बीबीसीले डकुमेन्ट्री समेत बनाउँदैछ ।
पपुवा न्यूगिनीबाट नेपाल आएका बेकह्याम शनिबार अर्जेन्टिना जानेछन् ।