समाचारशनिबार, कार्तिक २१, २०७२
दाहाल भन्छन, ‘बाबुरामबाट मैले धेरै दुख पाएँ, अहिले देशले पाइरहेको छ’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराईले आफूलाई धेरै दुख दिएको र अहिले देशले समेत उनीबाट दुख पाइरहेको आरोप लगाएका छन् ।
२१ कात्तिक विहान बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले भने, “बाबुरामजीले दिएको दुख मैले धेरै वर्ष झेलें, अहिले उहाँले दिएको दुख नेपाली जनताले पनि झेलिरहेका छन् ।”
भूकम्पको पीडाबाट पार नपाउँदै मुलुकले भारतीय नाकाबन्दीको मार खेपिरहेका बेला पार्टीसहित सम्पूर्ण देश एक ढिक्का हुनुपर्नेमा भट्टराई जिम्मेवारीबाट विमुख भई गलत बाटोमा लागेको दाहालले बताए । यद्यपी उनले आफूले पाएको दुख बारेमा खुलाएनन् ।
बाबुरामले पार्टीलाई मात्रै नभई सिङ्गो कम्यूनिष्ट आन्दोलन, राष्ट्र र जनतालाई समेत धोखा दिएको दाहालको दाबी छ ।
पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालसँगै बुटवल आएका उपप्रधानमन्त्री एवम् पार्टी सचिव टोपबहादुर रायमाझीले भट्टराईले पार्टी छाड्नु अघि आफूसँग कुनै छलफल नगरेको गुनासो गरे ।
पार्टीमा बाबुराम निकट भनेर चिनिएका उनले भने, “बाबुरामजीले आत्मघाती गोल गर्नु भएको छ, हामीलाई त भेडाबाख्रा जती पनि ठान्नु भएन ।”
‘भारतसँग झुक्दैनौं’
सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले संविधानसभाबाट संविधान जारी हुँदा भारतले नेपालीलाई सजाय दिनु उसको गल्ती भएको बताए ।
“आत्मनिर्णयको अधिकार प्रयोग गरेर गल्ती गरेका छैनौं, त्यसको सजाय भारतसँग पाउनुपर्ने भए पनि झुक्दैनौ,” उनले भने ।
उनले भारतसँग कुनै हालतमा पनि नझुक्ने भन्दै अन्तिम समयसम्म सबै नेपाली एक भएर भारतको सामना गर्ने बताए ।
मधेश र मधेशीमाथि संविधानले कुनै विभेद नगरेको दोहोर्याउँदै दाहालले भने, “मधेशले अरु भन्दा बढी, पहिचान सहितको प्रदेश पाएको छ, अरुले त्यती पनि पाएका छैनन् ।”
राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी समिक्षा बैठकमा उठेको द्वन्द्वकालमा मानवअधिकार विरुद्धको अपराध गर्नेहरुले सजाय नपाएको भन्ने प्रश्न बारे प्रतिक्रिया दिंदै दाहालले भने, “संयुक्त राष्ट्रसंघकै संलग्नतामा नेपालमा शान्तिप्रक्रिया अघि बढेको हो, शान्तिप्रक्रिया टुंगिसकेको अवस्थामा अहिले त्यो कुरा उठाउन पाइँदैन ।”
दीपक ज्ञवाली, बुटवल