समाचारशनिबार, कार्तिक २१, २०७२

मधेशकेन्द्रित दललाई कांग्रेसको अपिल: समाधान संसदबाटै

हिमालखबर

नेपाली कांग्रेसले तराईमा आन्दोलनरत दलहरूले जनताप्रतिको जिम्मेवारी बोध गरी संसदबाटै समस्याको समाधान खोज्न अपिल गरेको छ ।

संसदलाई सबै समस्याको समाधान खोज्ने थलोका रुपमा विकसित गरी पहिलो चरणमा संविधान संसोधनका लागि पहल गरी राष्ट्र र जनता प्रतिको जिम्मेवारी बहन हुने नेपाली काँग्रेसको ठहर छ ।

“संसदबाट खोजिने हरेक समाधानमा नेपाली कांग्रेस तराई मधेशका जायज मागको सम्बोधन गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गर्दछु ,” नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलद्वारा २१ कात्तिकमा जारी अपिलपत्रमा उल्लेख छ ।

कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समावेशीता र समानुपातिक सहभागिता तथा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थाका लागि संविधान संसोधन प्रस्ताव अगाडि बढाउन आगामी संसदको बैठकबाट पहल शुरु गर्ने निर्णयसमेत गरिसकेको छ ।

लामो समयदेखिको आन्दोलनले तराई मधेश मात्र नभएर सिङ्गो मुलुक आक्रान्त बनेको, जारी आन्दोलनले आम नागरिकको जीवन कष्टकर बन्दै गएको भन्दै पौडेलद्वारा जारी अपिलपत्रमा भनिएको छ, “नेपाली कांग्रेस तराई मधेशमा देखिएका समस्या समाधानका लागि सधै तयार छ, कांग्रेस नेतृत्वको सरकारले अन्तरिम संविधानमा समावेश भएका तर संविधानसभाबाट जारी नयाँ संविधानमा छुटेका समावेशीता र समानुपातिक सहभागिता तथा जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थाका लागि संविधान संसोधन प्रस्ताव संसदमा दर्ता गराइसकेको समेत स्मरण गराउन चाहान्छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>