समाचारशनिबार, कार्तिक २१, २०७२

देशलाई कमजोर बनाउने गरी घुँडा टेक्दैनौ: उपप्रम मैनाली

हिमालखबर

cp-mainaliउपप्रधानमन्त्री सिपी मैनालीले भारतसँगको नाका खुलाउने प्रयत्नलाई जारी राखेर नेपालले अब चीनसँगको नाका खोल्ने कामलाई बढाउँदै लैजाने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, “भारतद्वार मात्र नभएर अब नेपालले बहुद्वार नीति अवलम्बन गर्नेछ, भारतमा मात्र सीमित नरहने गरी पारवाहनमा विविधता अपनाइने छ ।”

तराईलाई जसरी भए पनि हिमाल र पहाडबाट अलग तुल्याउने तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने कार्यमा भारत लागेको आरोप लगाउँदै उपप्रधानमन्त्री मैनालीले संविधानसभाबाट जारी भएको लोकतान्त्रिक र समावेशी संविधानले छिमेकीलाई कहीँकतै नोक्सानी नपारेको उल्लेख गरे ।

उनले मधेशमात्रैको दुई प्रदेश कुनै हालतमा नहुने र मधेश केन्द्रित दलले मागेजस्तो कैलाली कञ्चनपुर, सुनसरी, मोरङ्ग र झापा मधेश प्रदेशमा गाभ्न नहुने अडान ब्यक्त गरे ।

बाबुराम भट्टराई नेतृत्वको सरकार गठनका बेलाको सत्ता गठबन्धनदेखि नै अहिलेकै ढंगले काम भईरहेको भन्दै भट्टराई पनि भारतीय स्वार्थ बोकेर हिडिरहेको मैनालीले आरोप लगाए ।

उनले २०४५ सालसम्म आन्दोलनमा सहयोगको नाममा नेपालका राजनीतिक दलहरुले भारतीय क्याप्सुलमा के छ भन्ने नहेरी खाएको र अहिले मधेश केन्द्रित दलहरुले फेरि त्यही क्याप्सुल खाएर गल्तीगरिरहेको उनले बताए ।

उपप्रधानमन्त्री मैनालीले भने,”पहिला पनि यस्तो भएको थियो तर त्यो हामीले राजा विरुद्ध भन्ने बुझ्यौ तर त्यो हाम्रो विरुद्ध रहेछ । यसले अहिले हाम्रो आँखा खोलेको छ । हामी नेताहरु भारतले दिएको गाँजा खाएर सुत्यौ र हामी भारतप्रति परनिर्भर भयौ ।”

उनले अगाडि भने, “भारतको अघोषित नाकाबन्दीबाट पाठ सिकेर अब नेपालले छिमेकीसँगको सहयोग र सम्बन्धलाई पुनःपरिभाषित गर्नुपर्ने देखिएको छ ।”

आफूले चाहेको जस्तो संविधान बनेन भनेर भारतीय पक्षबाट गरिएको नाकाबन्दीलाई राजनीतिक हस्तक्षेपको संज्ञा दिँदै मैनालीले विनाकारण, गैरकानुनी र अमानवीय रुपले गरिएको यस्तो व्यवहार अन्यायपूर्ण र अनुचित रहेको धारणा व्यक्त गरे ।

संविधान जारीपछि सिर्जित चुनौतीको सामना गर्दै मुलुकलाई आत्मनिरर्भर तुल्याउने तर्फ सरकारको भूमिका केन्द्रित रहेको बताउँदै उनले भने, “ देशको इज्जत कमजोर हुने गरी घुँडा टेक्दैनौ, समस्या हटाउने र घटाउनेतर्फ सरकारबाट प्रयत्न भइरहेको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>