थप समाचारशनिबार, कार्तिक २१, २०७२
‘नाकाबन्दी र आन्दोलनले बालबालिकामा ठूलो आघात’
केन्द्रीय बालकल्याण समितिले मधेश आन्दोलन र भारतको नाकाबन्दी जारी रहेका बेला विशेष संवेदनशील भई बालअधिकारको सम्मान, संरक्षण र परिपालना गर्न गराउन सरोकारवाला सबैलाई आह्वान गरेको छ ।
मधेश केन्द्रीत दलहरुको आन्दोलन र भारतको अघोषित नाकाबन्दीबाट बालबालिकाको संरक्षण र बालअधिकारको सम्बर्धन तथा प्रवर्धनमा ठूलो अघात पुगेको भन्दै समितिले लामो नाकावन्दी, बन्द, हडताल, जुलुस, नारा र पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्याँस लगायतका अभावका कारणबाट सिर्जित अवस्थाले समग्र बालबालिकालाई डर, त्रास, भय, हिंसा, अशान्ति, अभाव, बाधा, विरोध, अवरोध र व्यावधानको शिकार बनाएको जनाएको छ ।
बन्द, हडतालका कारण तराई–मधेशका सम्पूर्ण विद्यालयहरु बन्द भएको र यातायात र सुविधा नहुँदा अन्य क्षेत्रका समेत विद्यालय बन्द हुँदा बालबालिकाको समग्र सिकाई उपलब्धिमा अत्यन्त नकारात्मक प्रभाव पर्न गएको भन्दै पनि समितिले जनाएको छ ।
“परिवार विहिन, असहाय र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई संरक्षण प्रदान गरिरहेका बालगृहहरु लगायतमा रहेका बालबालिकाले इन्धनको अभावमा हातमूख जोर्न समेत समस्या भोगिरहेका छन्,” आह्वान पत्रमा उल्लेख छ ।
औषधि पसल, क्लिनिक र सरकारी तथा नीजि अस्पतालहरुमा समेत आवश्यक औषधिको अभाव हुनगई प्रसुति तथा सुत्केरी र बालबालिकाको औषधि उपचार गर्ने कार्य समेत प्रभावित हुन गएको पनि समितिले जनाएको छ ।
यो अवस्थाले गर्भमा रहेको भ्रूणदेखि नवजात शिशु र सम्पूर्ण बालबालिका नै पीडित हुनु परेको भन्दै समितिले भूकम्पले थलिएको समग्र आर्थिक क्रियाकलाप, शिक्षा स्वास्थ्यमा परेको प्रभाव, खाद्यन्न आपूर्ति लगायतको अभाव जस्ता प्राकृतिक विपदको पीडा कम हुन नपाउदै मानव सिर्जित यस विपदबाट मानवीय संकट सिर्जना हुन थालेको पनि समितिले उल्लेख गरेको छ ।
आङ्खना अधिकारका निम्ति अरुका अधिकार अझ विशेषतः बालबालिकाका अधिकारलाई कुण्ठित गरी मानवीय संकट सिर्जना गर्ने कार्यलाई मानवअधिकार सम्मत मान्न नसकिने भन्दै बालकल्याण समितिले शान्तिपूर्ण तरिकाले सम्वादका माध्यमबाट नै समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
उसले बालबालिकाको विद्यालय जाने र आउने तथा शिक्षा आर्जन गर्न पाउने, औषधि उपचार गर्न पाउने, नियमित रुपमा हातमूख जोर्न पाउने, मूलतः राज्यबाट सुरक्षा तथा संरक्षण पाउने र कसैले पनि कुनै पनि बहानामा बालबालिकालाई जुलुस, बन्द, हडताल तथा आफ्नो स्वार्थमा प्रयोग नगरी प्राथमिकताका साथ बालमैत्री वातावरण यथाशीघ्र कायम राखी बालअधिकारको सम्मान, संरक्षण र परिपालना गर्न गराउन सम्बन्धित सबैमा हार्दिक आव्हान समेत गरेको छ ।