थप समाचारशनिबार, कार्तिक २१, २०७२
भारतबाट इन्धन आयात ठप्प
यसअघि मागको १० प्रतिशत भन्दा पनि कम मात्रै इन्धन नेपाल आउन दिएको भारतले पाँच दिनदेखि इन्धन आउन पूरै रोकेको छ भने अन्य सामानको आयातमा समेत रोक लगाएको छ ।
तराईमा जारी आन्दोलनले सुरक्षाा खतरा बढाएकाले नेपालतर्फ मालबाहक गाडि जान नसकेको भन्ने भारत सरकारले दाबी गरिरहे पनि वीरगञ्ज-रक्सौल बाहेक अन्य कुनै नाका पनि अवरोध वा आन्दोलन छैन ।
भैरहवा–सुनौली नाका १६ कात्तिकदेखि ठप्प पारेको भारतले २१ कात्तिकमा ४ वटा मालबाहक गाडी मात्रै आउन दिएको छ, त्यो पनि कुहिन लागेका आलु र फलफूल भएका ।
पारीपट्टी पार्किङको समस्या आयो वा ट्रकमा रहेका सामान कुहिएर दुर्गन्ध आउन थालेपछि मात्रै नेपालतर्फ पठाउने गरेको बेलहिया भन्सारका कार्यालयका कर्मचारी बताउँछन् ।
५ दिनदेखि इन्धन आयात ठप्प रहेको बेलहिया सीमा प्रहरीले जनाएको छ ।
पूर्वको काँकडभिट्टा–पानीटंकी सिमानाकाबाट पनि इन्धनको आयात पाँच दिनदेखि ठप्प छ ।
भारतीय सशस्त्र सीमा बलाले सिमापारी पानीटंकीमा इन्धन भरेका ३५वटा ट्यांकरलाई पाँच दिनदेखि नेपाल प्रवेशमा रोक लगाएको पेट्रोलियम डिलर्स एसोसिएसनका मेचीका अध्यक्ष लय भण्डारीले बताए ।
अघिल्लो साता इन्धन लिन भारत पश्चिम बंगालको जलपाईगढीस्थित न्युजलपाईगढी डिपो पुगेर इन्धन भरेका ती ट्यांकरलाई एसएसबीले रोकेको हो ।
भारतले अत्यावश्यक इन्धन रोकेपनि आलु, प्याज, फलफूल जस्ता कुहिने सामान भने आउन दिएको छ । तर, तेस्रो मुलुकबाट आएका कन्टेनरलाई घण्टौंको जाँचपछि सिमित मात्रामा मात्रै छोडेको छ ।
२१ कात्तिकमा पनि यो नाकाबाट इन्धनको एउटै गाडी भित्रिएको छैन । काँकडभिट्टा–पानीटंकी नाकाबाट नेपाल पसेका ४५ मालबाहक मध्ये ४० वटा ट्रक र पाँचवटा कन्टेनर भएको मेची भन्सार कार्यालय काँकडभिट्टटाले जनाएको छ ।
सिमापारी पानीटंकी सिलिगढी रुटमा नेपाल आउने मालबाहक गाडीको करिब आठ किलोमिटर लामो लाम लागेको छ ।
काकडभिट्टामा बोत्तलमा पेट्रोल
ट्यांकर रोकिएपछि सीमा क्षेत्रका वासिन्दाले ग्यालेन र बोतलमा भारतका पेट्रोलपम्पबाट पोट्रोलियम पदार्थ ल्याई काँकडभिट्टाको पुरानो बस बिसौनीबाट बिक्री गरिरहेका छन् ।
पुरानो बिसौनीमा परल मूल्य भन्दा डेढी मुल्यमा खुल्लमखुल्ला इन्धनको बजार लागेको छ ।
यहाँ इलामबाट समेत पेट्रोल र डिजेल लिन आउनेको भीड देखिन्छ तर पर्याप्त उपलब्धता भने छैन ।
पेट्रोलको तस्करी भए पनि संकटका बेला गर्जो टार्नमा सहयोग पुगेको भन्दै अधिकारीहरुले पनि आँखा चिम्लिदिएका छन् ।
विराटनगर–जोगबनीबाट आलुप्याज मात्रै
१९ कात्तिक साँझदेखि जोगबनीबाट इन्धनको आयात शून्य रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक अर्जुन सापकोटले जानकारी दिए ।
त्यसअघि १८ कात्तिकमा विहारमा निर्वाचन हुन लागेको भन्दै सीमानाका पूरै बन्द गरिएको थियो ।
जोगबनी नाकाबाट इन्धनसँगै तेस्रो मुलुकबाट आयात भएका सामान राखिएका कन्टेनर पनि नेपाल आउन दिइएको छैन ।
यो नाकाबाट आलु र प्याज भने प्रशस्तै आएको छ । २१ कात्तिक साँझसम्म ५० वटा मालवाहक गाडी भित्रिएको तीमध्ये अधिकांशमा आलु, प्याज र टमाटर रहेको सापकोटाले बताए ।
भारततर्फ जोगबनीदेखि १६ किलोमिटर परसमम इन्धन र अन्य सामान बोकेका गाडीहरुको लाम लागे पनि एसएसबीले कुनै गाडी नेपाल आउन दिएको छैन ।
नेपालगञ्ज–रुपैडिहा पनि उस्तै
नेपालगञ्ज रुपैडिहा नाकाबाट १८ कात्तिकदेखि ग्यासको एउटा बुलेट बाहेक इन्धन आयात ठप्प छ ।
१६ कात्तिक दिउँसोबाट पूरै बन्द भएको नेपालगञ्ज–रुपैडिहा नाकाबाट१७ कात्तिकमा भने डिजल १६, पेट्रोल ६ ट्यांकर, २ ग्यास बुलेट र ४१ अन्य मालबाहक गाडीहरु भित्रिएका थिए ।
२१ कात्तिकमा १३ वटा मालबाहक गाडीमात्रै भित्रिएका छन् । अहिले सीमा पारी रुपैडिहादेखि बाबागञ्जसम्म नेपाल आउन पालो पर्खेका ३४ वटा इन्धन बोकेका ट्यांकर, एउटा ग्यास बुलेट सहितका गाडीहरुको लाम छ ।
‘माथीको आदेश’ भन्दै मालबाहक तथा इन्धन गाडीहरुलाई एसएसबीले रोकिराखेको छ ।
-गोपाल गडतौला, झापा/कमल रिमाल, विराटनगर/ दीपक ज्ञवाली, भैरहवा/ केशव राना, नेपालगञ्ज