थप समाचारआइतबार, कार्तिक २२, २०७२
सप्तरीः किर्ते नागरिकता बनाउने पक्राउ
सप्तरी प्रहरीले किर्ते गरी नेपाली नागरिकता बनाउने भारतीय नागरिकसहितको गिरोहलाई पक्राउ गरेको छ ।
राजविराजस्थित एक होटलमै बसेर नक्कली नागरिकता बनाइदिने र बनाउने पाँच जनालाई प्रहरीले २१ कात्तिकमा। पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाली र भारतीय दुबै गरी पाँच जना छन् ।
पक्राउ परेकाहरुको साथबाट जिल्ला प्रशासन कार्यालयमा प्रयोग भएकोजस्तै रजिष्टर, सरकारी छाप, प्रशासकीय अधिकृतको स्टाम्प प्याड समेत बरामद भएकाले यसमा सरकारी कर्मचारीहरुको पनि संलग्नता भएको हुन सक्ने आशंका गरिएको छ ।
राजविराज ४ स्थित दिप साजन लजमा नागरिकता लिने र नागरिकता बनाउने व्यक्तिहरु बिच कुराकानी भइरहेको विशेष सूचनाको आधारमा उनीहरुलाई सोही लजबाट २० कात्तिकमा पक्राउ गरिएको प्रहरी उपरीक्षक भीम ढकालले जानकारी दिए ।
उनीहरुलाई नेपाली नागरिकता बनाउन प्रयोग हुने कार्ड, जिल्ला प्रशासन कार्यालय सप्तरीको छाप, प्रशासकीय अधिकृतको छाप, रजिष्टर लगायतका कागजात तथा सामाग्रीहरु सहित पक्राउ गरिएको उनले बताए ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज–५ बस्ने ५२ वर्षीय वकील झा, कुसहा–९ बस्ने ५९ वर्षीय राजेन्द्र प्रसाद चौधरी, तिलाठी–३ बस्ने ५५ वर्षीय चादुचन्द्र मिश्रा, भारतको उत्तर प्रदेश घर भई हाल बुटवल–१३ बस्ने २२ वर्षीय संजीब मियाँ र भारतको उत्तर प्रदेश सिद्वार्थनगर घर भई बुटवल–३ बस्ने अकबर साह छन् ।
प्रहरीले भारतीय नागरिक अकबर साहको नागरिकता झा, चौधरी र मिश्राले बनाइरहेको अवस्थामा उनीहरु रंगेहात पक्राउ परेको जनाएको छ ।
संजीव मियाँ र उनका भाईले २०७० सालमै यही गिरोहबाट रु ५० हजार तिरेर नक्कली नागरिकता बनाएको प्रहरी उपरीक्षक ढकालले बताए ।
संजीबकै साथ लागेर अकबर नागरिकता बनाउन राजविराज आएको र ६० हजारमा कुरा भई १५ हजार वकील झालाई दिएको उनले बताए ।
पक्राउ परेका पाँचै जनालाई २१ कात्तिकमा उनीहरुको साथबाट बरामद भएको सम्पूर्ण सामग्रीसहित प्रहरीले सार्वजनिक गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
