रिपोर्टआइतबार, कार्तिक २२, २०७२
नाकाबन्दीमा नयाँ
देशमा भएको इन्धनको अभावले धेरै नेपालीको जीवनशैलीलाई परिवर्तन गरिदिएको छ ।
भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्ति अवरुद्ध हुँदा नेपालीको भान्सादेखि यात्रासम्म प्रभावित भएको छ ।
यो अवस्थामा खाना बनाउन शहरमा दाउरा, ब्रिकेट, विद्युतीय चूलो आदिको प्रयोग बढेको छ र घरदेखि होटल–रेस्टुरेन्टसम्म परिकारको ‘भेराइटी’ घटेको छ । पहिल्यैबाट बजारमा उपलब्ध भए पनि चासो बाहिर रहेको विद्युतीय सामग्रीको कारोबार बढेको छ ।
आवतजावतका लागि साइकलको प्रयोग मात्र होइन, मोटरसाइकल र निजी कारहरूमा लिफ्ट लिन, दिन थालिएको छ । नेपाल प्रहरी र नेपाली सेनाले सर्वसाधारणको सुविधाका लागि निःशुल्क बस चलाएका छन् ।
ब्रिकेट र दाउरा
कालीमाटीमा तरकारी पसल गर्ने माया श्रेष्ठको १५ जनाको संयुक्त परिवार ग्याँस सकिएपछि अहिले दाउरामा खाना पकाइरहेको छ । त्यसको लागि श्रेष्ठ परिवारले ३० रुपैयाँ किलोमा दाउरा किन्न थालेको छ ।
त्यस्तै, बुद्धनगरकी सुनिता लामाले जाडोमा कोठा तातो गराउन प्रयोग गर्ने ब्रिकेटबाट खाना पकाउन थालेकी छन् । ग्याँस सकिंदा र इलेक्ट्रोनिक्स सामान महँगो हुँदा ब्रिकेट रोजेको उनले सुनाइन् ।
इन्डक्सन हीटर
बिजुलीबाट खाना पकाउने चूलो हो– इन्डक्सन हीटर । भात, दाल, तरकारी पकाउनदेखि पानी, दूध, चिया उमाल्नेसम्मको काम गर्ने हुनाले यसको माग बढेको छ ।
इन्डक्सन हीटरमा आवश्यकता अनुसार खाना छिटो वा ढिलो पाक्ने गरी तापक्रम मिलाउन सकिन्छ । २००० किलोवाट क्षमताको हीटरमा खानेकुरा तयार गर्ने भाँडाकुँडा बजारमा आएका छन् ।
इन्डक्सन हीटरमा ग्याँस चूलोमा प्रयोग गरिएका स्टील र फलामका बाक्ला भाँडाकुँडा पनि प्रयोग गर्न सकिन्छ । इन्डक्सन हीटरलाई ब्रान्ड अनुसार रु.५ हजारदेखि रु.८ हजारसम्म पर्छ, तर अत्यधिक माग भएपछि बजारमा सामान पाउन हम्मे पर्न थालेको छ ।
इलेक्ट्रिक प्रेसर कुकर
प्रेसर कुकरकै विशेषता रहेको इलेक्ट्रिक प्रेसर कुकरमा भात, दाल बनाउनुका साथै अन्य खानेकुरा उसिन्न सकिन्छ । प्रेसर कुकरको तुलनामा यसमा खानेकुरा तयार गर्न केही बढी समय लाग्ने भए पनि सुरक्षित रहेको छ ।
विभिन्न ब्रान्ड र मोडलमा बजारमा उपलब्ध इलेक्ट्रिक प्रेसर कुकरको मूल्य रु.४५ सयदेखि रु.६ हजारसम्म पर्छ ।
हट प्लेट
खानेकुरा पकाउने र तताउने काम गर्छ हट प्लेटले । यसलाई ग्याँस वा बिजुलीबाट चलाउन सकिन्छ ।
काठमाडौंको बजारमा १०० वाटदेखि २००० वाट क्षमतासम्मका विभिन्न मोडलका हट प्लेट पाइन्छ । विशेषता र मोडल अनुसार यसलाई रु.१५ सयदेखि रु.८ हजारसम्म पर्छ ।
लिफ्ट लिने/दिने
पेट्रोलियम अभाव चर्किएपछि ‘म्यानेजमेन्ट कल्सन्ट्यान्ट’ सुमना श्रेष्ठले काठमाडौंमा लिफ्ट लिने÷दिने अभियान चलाइन् ।
उनले एक महीना अघिबाट फेसबूकमा चलाएको ‘कारपुल काठमाडौं’ पेजमा एक लाख पाँच हजारभन्दा बढी सदस्य भइसकेका छन् । त्यहाँ दैनिक सयौंले आफू हिंड्ने बाटोको जानकारी दिंदै लिफ्ट दिने र लिने तय गर्छन् ।
“समस्याको समाधान समुदायबाटै गर्ने हो”, सुमना भन्छिन् “इन्धन अभाव टरेपछि पनि फेसबूक पेजको एडमिन थपेर यसलाई निरन्तरता दिन्छु ।”
माधवी भट्ट पराजुलीले पनि कलंकीबाट बिजुलीबजारसम्म आउजाउ गर्दा दैनिक करीब १० जनालाई लिफ्ट दिन्छिन् । सत्य निरुपण तथा मेलमिलाप आयोगकी प्रवक्ता उनले आफ्नो फेसबूकमा अस्पताल वा अन्य अत्यावश्यक ठाउँमा जान सहयोग चाहिए सम्पर्क गर्न सूचना नै राखेकी छन् ।
बाटोमा गाडी कुर्दा कुर्दा थाक्ने तर कोहीसँग मद्दत माग्न अप्ठ्यारो मान्ने मानिसहरू पनि अहिले लिफ्ट लिन थालेका छन् । मोटरसाइकल वा कारमा एक्लै हुँइकिनेहरूले पनि रोकेर लिफ्ट दिन थालेका छन् ।
निःशुल्क बस सेवा
नेपाल प्रहरी र नेपाली सेनाले ‘रश आवर’ मा सर्वसाधारणको सुविधाको लागि उपत्यकामा निःशुल्क बस चलाएका छन् । २४ असोजदेखि तीन रुटमा प्रहरीको र ११ कात्तिकबाट ८ रुटमा सेनाको बस गुड्न थालेका छन् ।
हरेक रुटमा बिहान साढे ८, १०, २ र ४ बजे दैनिक दुई पटक बस चल्ने जानकारी सेनाका प्रवक्ता ताराबहादुर कार्कीले दिए ।
त्यस्तै, प्रहरीको तीन वटा बस बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म तीन वटा रुट (१. नक्साल, पुतलीसडक, माइतीघर, कुपन्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहीदगेट, रत्नपार्कहुँदै नक्साल, २. नक्सालबाट मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल माइतीघर, त्रिपुरेश्वर शहीदगेट, लैनचौर, लाजिम्पाट, महराजगंज, बालुवाटारहुँदै नक्साल र ३. नक्साल, जयनेपाल हल, लैनचौर, सोह्रखुट्टे, बालाजु, नयाँबसपार्क, नारायणगोपाल चोक, सुकेधारा, रातोपुलहुँदै नक्साल) मा चल्छन् ।
तिहार र छठ पर्वपछि पनि इन्धन अभाव रहँदासम्म यो सेवा रहने नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले बताए ।
फिर्यो साइकलको दिन
१९८० को दशकमा काठमाडौंमा साइकल भित्रिंदा यो साधन आर्थिक सम्पन्नता र शानको प्रतीक जस्तो थियो । विस्तारै साइकल मध्यमवर्गीय परिवारको यातायातको आवश्यकता पूरा गर्ने साधन बन्यो ।
काँठ क्षेत्रबाट काठमाडौं शहरका सरकारी कार्यालयमा जागीर खाने धेरैले साइकल चलाए । साइकलको चलन काठमाडौंमा विस्तारै हराउँदै तराई–मधेशमा बढ्यो । पेट्रोलियम अभावले काठमाडौंवासीलाई फेरि साइकलमा फर्काएको छ ।
काठमाडौं शहरमा स्वास्थ्य सचेतनाको साधनमा सीमित हुनु पुगेको साइकलको दिन फिरेको छ ।
जिल्ला शिक्षा कार्यालय ललितपुरका स्रोत व्यक्ति सत्यनारायण महर्जनले १० वर्षअघि थन्क्याएको साइकल बनाएर चलाउन थालेका छन् । जमलको न्यू स्पार्क स्पेयर स्टोर्सका अनुज डंगोलले इन्धन अभाव हुन थालेयता ८० वटा साइकल बेचेर स्टोर रित्याए ।
“चलाउन सजिलो हुने रु.१२ हजारदेखि रु.१६ हजारसम्म पर्ने गेयरवाला माउन्टेन बाइक सबै बिक्री भए”, डंगोल भन्छन्, “घरमा एउटा भए नि साइकल त हुनुपर्नेरहेछ भनेर किन्न आउने धेरै छन् ।”
तरकारीको अभाव छैन
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ तरकारी तथा फलफूलको अभाव नभएको बताउँछन् । कालीमाटी बजारमा अहिले दैनिक ५०० टन तरकारी तथा फलफूल आइरहेको उनले बताए ।
काठमाडौं उपत्यकाका साथै धादिङ, काभ्रे, मकवानपुर, चितवनलगायतका जिल्लाबाट तरकारी आइरहेको छ । बरु उपभोक्ताको खपत नै घटेको हुँदा मूल्य नबढेको श्रेष्ठ बताउँछन् ।