थप समाचारसोमबार, कार्तिक २३, २०७२
नाकाबन्दीमा फस्टाएकाे ब्यापार (तस्वीरहरु)
झापा चरआलीका रबी अधिकारीको दैनिकी कात्तिक दोस्रो सातादेखि फेरिएको छ ।
उनी विहान झिसमिसेदेखि राति अवेरसम्मै घरदेखि करीब १२ किलोमिटर पूर्व सिमानास्थित मेचीनगर ११ प्यारीभिट्टा मैदानमा हुन्छन् । दिनभिर पारिबाट बेच्न ल्याउनेहरुबाट पेट्रोल किन्छन् अनि ड्रम र बोतलमा भर्छन् र सम्पर्कमा आएका ग्राहकहरुलाई बेच्छन् ।
उनको यो ब्यापारमा प्रतिलिटर रु. २०/२५ सम्म नाफा हुन्छ । २१ कात्तिक विहानदेखि दिउँसो १ बजेसम्ममा उनले सात सय लिटर पेट्रोल र ३ सय लिटर डिजेल जम्मा गरिसकेका थिए । उनले भने, “काठमाण्डौको पार्टीको अर्डर छ, बेलुकासम्ममा २ हजार लिटर पुर्याउनु छ ।”
सीमाको मेचीनगर प्यारीभिट्टाको पुरानो बसपार्कको खाली मैदानमा मोटरसाईकलका ट्यांकीबाट ग्यालेन र ड्रममा पेट्रोल तानिरहेका, कार र भ्यानबाट डिजेल झिकिरहेको, बाल्टी र बोतलमा समेत राखेर खुल्लमखुल्ला इन्धन बिक्रि गरिरहेको देखिन्छ ।
बाल्टीमा डिजेल बेचिरहेकी एकजना महिलाले भनिन्, “बिहानदेखि यतिकै ब्यस्त छु ।” ती महिलाले २ सातादेखि दैनिक १ हजार लिटर डिजेल बेचिरहेको बताइन् ।
उनले डेढसय रुपैँया लिटर डिजेल र दुईसय रुपैँया लिटरको मूल्यमा पेट्रोल बेचिरहेको बताइन् । राजमार्गसँग जोडिएको प्यारीभिट्टा मैदानमा पेट्रोल र डिजेल करिब दोब्बर मूल्यमा विक्री भइरहेको यहाँका निकायलाई पनि राम्रो थाहा छ ।
ईलाका प्रहरी कार्यालय काँँकडभिट्टाका नायब उपरिक्षक श्याम अधिकारी महँगोमा भएपनि जनताले किन्न पाएकोमा चित्त बुझाँउनुपर्ने बताँउछन् । उनी भन्छन्, “उत्पात हाहाकार मच्चिनु भन्दा आँखा चिम्लिँदा जनजीवनको सकस कम हुन्छ भने आँखा चिम्लिन ठिक ठानेका छौं ।”
मेची भन्सार काँकडभिट्टाका एकजना अधिकारी पानीटंकीबाट दैनिक कम्तिमा ३० हजार लिटर पेट्रोलियम यसरी खुद्रा तस्करी भएर भित्रिरहेको बताँउछन् ।
प्यारीभिट्टाको खुल्ला तेल बजारमा झापा, इलाम, पाँचथर मात्र होइन पश्चिम नेपालका बिभिन्न जिल्लादेखि इन्धन किन्न आँउनेको ओइरो छ । भारतले ६ असोजदेखि गरेको नाकाबन्दीका कारण त्यसैपनि इन्धनको समस्या परेको छ । पछिल्लो एकसाता देखि आयात ठप्प भएका कारण इन्धनको अभाव भइरहेको छ ।
-गोपाल गडतौला, झापा