समाचारमंगलबार, कार्तिक २४, २०७२
‘सहमतिका नाममा हत्यारालाई उन्मुक्ति नदिइयोस’

२५ भदौमा मधेशी मोर्चाका कार्यकर्ताद्वारा हत्या गरिएका सशस्त्र प्रहरीका असइ थमन बहादुरकी पत्नी शोभा विक ।
आन्दोलनका क्रममा प्रहरीलगायत सर्वसाधारणको हत्या गर्ने, यातना दिनेलाई कसैगरी पनि उन्मुक्ति नदिन पीडित परिवारले माग गरेका छन् ।
सशस्त्र प्रहरी दिवसका अवसरमा बाराको पथलैयास्थित मध्यक्षेत्रीय सशस्त्र प्रहरी बलको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी पीड्ति परिवारले प्रहरीका हत्याराहरुलाई चाँडै कार्वाहीको माग गरेका हुन् ।
महोत्तरीमा आन्दोलनकारीको आक्रमणबाट घाइते भई उपचारका लागि जनकपुरतर्फ लगिने क्रममा एम्बुलेन्स्बाट थुतेर हत्या गरिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिककी पत्नी शोभा बिकले हत्यारा जो सुकै भए पनि उन्मुक्ति दिन नहुने बताइन् ।
“बाटोमा हिंडदै गरेका बेला मरणासन्न हुने गरी कुट्ने र उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेर हत्या गर्ने कस्तो आन्दोलन हो,” उनले भनिन्, “हत्याराहरुलाई कार्वाही गरिनैपर्छ ।”
बाँकेको नेपालगञ्ज–८ घर भई महोत्तरी जिल्लामा कार्यरत सशस्त्र सहायक निरीक्षक बिकका परिवारलाई सशस्त्र प्रहरी दिवसको अवसरमा सम्मान गरिएको थियो ।
आन्दोलनका क्रममा हत्या, हिंसाको आरोपमा पक्राउ परेकालाई निशर्त रिहा गर्ने सरकारको निर्णय आपत्तिजनक भन्दै पीडित परिवारले दोषीलाई हदैसम्मको कार्वाही हुनु पर्ने बताएका थिए ।
श्याम गुप्ता, बारा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
