समाचारमंगलबार, कार्तिक २४, २०७२

तीहारमा विद्युत्‌ खपत कम गर: प्राधिकरण

हिमालखबर

नेपाल विद्युत् प्राधिकरणले विद्युत्‌को खपतमा मितव्ययी हुन उपभोक्तालाई आग्रह गरेको छ ।

भारतले नाकाबन्दी जारी राखेको अवस्थामा खाना पकाउनका लागिसमेत विद्युत्‌कै प्रयोग भइरहेको र तीहारमा माग बढी हुने भन्दै प्राधिकरणले विद्युत कम खपत गर्न जोड दिएको हो ।

माग बढी हुँदा आपूर्ति व्यवस्थापन गर्न समस्या हुने भएकाले विशेष गरी साँझको समयमा कम विद्युत् प्रयोग गर्न प्राधिकरणको आग्रह छ ।

साँझको समयमा खाना पकाउने हिटर, राइस कुकर, झिलीमिली बत्ती तथा धेरै क्षमताका विद्युतीय उपकरण प्रयोग गर्दा ट्रान्सफर्मरमा समस्या आउने, प्रणालीमा भार बढ्ने सम्भावना बढी रहन्छ ।

नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले सबैले सहजरुपमा विद्युत् उपभोग गर्न पाउन भन्ने उद्देश्यले साँझको समयमा मितव्ययिता अपनाउन आग्रह गरिएको बताए ।

प्राधिकरणको केन्द्रिय प्रसारण लाइनमा हाल कुल ७१६ मेगावाट विद्युत् प्रवाह भइरहेको छ । आन्तरिक उत्पादन ५१६ मेगावाट र भारतबाट करिब २०० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ ।

नाकाबन्दीका कारण उद्योग धन्दा चलेका छैनन् । जसका कारण घरायसी प्रयोगमा मात्रै विद्युत् उपयोग भइरहेको छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले साँझको समयमा बढी विद्युत् प्रयोग गरिदिँदा एकै स्थानमा बढी लोड पर्दा समग्र स्थानमा प्रभाव पर्ने भएकाले प्रयोगमा ध्यान दिन आग्रह गरिएको बताए ।

“उत्सव बत्ती, विद्युतीय उपकरण एकै पटक धेरै प्रयोग गर्दा ट्रान्सफर्मरमा नै समस्या आउने, जल्ने तथा पूर्ण क्षमतामा विद्युत् प्रसारण नहुने भएकाले साँझमा विशेष ध्यान दिनुपर्छ,” पाण्डेयले भने, “ट्रान्सफर्मरको लोड सन्तुलन गर्न र विद्युत् प्रयोगमा मितव्ययिता अपनाउनु आवश्यक छ ।”

गत वर्ष तिहारमा मुलुक भर एक हजार ३०० मेगावाट विद्युत् प्रयोग भएको थियो । यस वर्ष १० प्रतिशतले वृद्धि हुँदा पनि एक हजार ४०० मेगावाटभन्दा बढी प्रयोग हुने पाण्डेयको दाबी छ । नाकाबन्दीका कारण खाना पकाउने ग्यासको आपूर्ति हुन नसक्दा पछिल्लो दिनमा विद्युत्मा निर्भरता बढेको छ । जति माग वृद्धि हुन्छ, त्यत्ति नै प्रणालीमा भार पर्दै जान्छ ।

समस्या नआओस् भनेर हरेक वितरण केन्द्रमा जगेडामा ट्रान्सफर्मर राखिएको छ । समस्या पर्ने बित्तिकै नयाँ ट्रान्सफर्मर प्रतिस्थापन गरिने प्राधिरकणले जनाएको छ । मुलुकभर हाल ४८ हजार ट्रान्सफर्मर प्रयोगमा रहेका छन् ।

ग्यास आयात नहुँदा केन्द्रीय प्रसारण लाइनमा १५ प्रतिशतभन्दा बढी माग थपिएको छ । एकै पटक अत्याधिक मात्रामा विद्युतीय उपकरण प्रयोग हुँदा काठमाडौँ उपत्यकाका एक दर्जनभन्दा बढी ट्रान्सफर्मरमा समस्या देखिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>