थप समाचारबुधबार, कार्तिक २५, २०७२
पति र सौताको हत्या योजना
सौताको रिसमा पतिको समेत हत्या गर्ने योजना बनाएकी महिलालाई उनका आफन्तसहित प्रहरीले पक्राउ गरेको छ ।
पति रामबाबु साह र सौता मन्जु बराइलीको हत्या योजना बनाएको अरोपमा रौतहटको रघुनाथपुर गाविस श्रीपुर टोलकी बवितादेवी साह र उनका सहयोगी चार जनालाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बबितासहित उनकी दिदी मीरादेवी साह, आफन्त दिनकर साह र एकजना झाँक्री नन्दकिशोर पान्डे छन् ।
२१ दिनको लामो अनुसन्धानसहित चारैजनालाई एकैपटक प्रहरी परिचालन गरेर विभिन्न स्थानबाट दसी–प्रमाणसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलाल जैस्बारले बताए ।
हत्याको लागि एकजनालाई पाँच हजार रुपैयाँ पनि दिइसकिएको र मीरादेवी साहले आफ्नो बहिनी ज्वाइँको हत्या गराउन दुई लाख चालीस हजार रुपैयाँमा आफन्त दिनकर साहमार्फत हत्या गर्ने मानिस समेत खोजिसकेको अवस्थामा निरन्तरको मधेश आन्दोलनले गर्दा बैंक तथा वित्तीय संस्थाहरु खुल्न नसकेकोले मात्रै दुवैजनाको हत्या हुन नसकेको अनुसन्धानबाट देखिन आएको प्रनि जैस्बारले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जैस्बारको भनाइ छ ।
बबिताका पति रामबाबु साह जिल्ला प्राविधिक कार्यालय रौतहटका सब–इन्जिनियर हुन् ।
कान्छी पत्नी भित्र्याएपछि उनले आफ्नो पुख्र्यौली सम्पती जेठी बबिताका नाममा गरिदिएका थिए भने कार्यालयबाट प्राप्त तलबको आधा रकम पनि उनलाई नै दिंदै आएका थिए ।
सञ्जय साह, रौतहट