समाचारबुधबार, कार्तिक २५, २०७२
सुनसान सिलिगुडी, जोगबनी
नेपाली उपभोक्ताकै कारण गुल्जार पूर्वका सीमावर्ती भारतीय बजार सिलिगुडी र जोगवनीका व्यापारी भारतीय नाकाबन्दीबाट आहत छन्।
भारतको पश्चिम बंगाल राज्यस्थित सिलिगुडीको दार्जीलिङमोडका व्यापारी दिलीप लामिछाने (५४) नेपालमा नाकाबन्दी हुनुअघि मासिक रु.२० लाखभन्दा बढीको बिक्री नेपाली उपभोक्तालाई गर्थे। “२० वर्षको दोकानदारीमा पहिलोपटक धक्का महसूस भएको छ”, उनी भन्छन्।
नेपालमा संविधान जारी गरिएको तीन दिनपछि अर्थात् ६ असोज अपराह्नदेखि भारतले मुख्य व्यापारिक नाका पानीट्यांकीमा कडाइ गर्न थालेको थियो। आफ्नै देशले गरेको नाकाबन्दीका कारण सिलिगुडीका भारतीय व्यापारीहरूको निद्रा हराएको छ।
१५ असोजमा १२ जना जतिको मधेश आन्दोलनकारीको समूह काकडभिट्टास्थित मेची पुलमा नारा लगाइरहेका देखिए। प्रहरीले तत्काल हस्तक्षेप गरेपछि उनीहरू तितरवितर भए। पक्राउ परेका दुई जना पनि एकसातापछि नै छुटे।
त्यसयता काकडभिट्टा―पानीट्यांकी नाकामा मधेशवादी आन्दोलनकारी देखा परेका छैनन्। तर, भारतीय सरकार भने आन्दोलनकारीकै कारण यी दुई नाकाबाट सामान पठाउन अस्वीकार गरिरहेको छ।
सिलिगुडीका प्लास्टिक उद्यमी रतन बिहानी (५८) को नेपालभित्रको व्यापार मासिक रु.२५ लाख जतिको थियो। उनी भन्छन्, “४१ वर्षको व्यापारमा पहिलोपटक उत्पादन स्टक हुनेभयो।”
भारतीय उद्यमी संगठन (सीआईआई) का उत्तर बंगाल च्याप्टरका अध्यक्ष नरेश अग्रवाल जलपाइगुडी, दार्जीलिङ, कुचबिहार, मालदह, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र अलिपुरद्वारबाट मात्रै नेपालसँग मासिक करीब १० करोडभन्दा बढी भारतीय रुपैयाँको कारोबार हुने गर्थ्यो।
नाकाबन्दीपछि नेपालसँगको कारोबार करीब एक चौथाइमा झ्रेको बताउने उनी भन्छन्, “म जस्ता धेरैको हालत यस्तै छ।” यस्तै अवस्था रहे नेपालको काकडभिट्टादेखि भारतको सिलिगुडीसम्मका कम्तीमा २५ हजार कामदारको रोजीरोटी संकटमा पर्ने उनको भनाइ छ।
नेपालसँगको नाका सहज पार्न अग्रवालसहितको टोलीले कोलकाता पुगी पश्चिम बंगाल राज्य सरकारका अधिकारीसमक्ष अनुरोधसमेत गरेको थियो। अग्रवाल भन्छन्, “तर कोलकाताका अधिकारीहरू दिल्ली देखाउँदै पन्छिए।”
नेपालीकै कारण गुल्जार पूर्वी सीमावर्ती जोगवनी बजार यतिवेला सुनसान छ। विराटनगरसँग सीमा जोडिएको जोगवनी बजार यति भीड हुन्थ्यो कि पैदलयात्रीलाई समेत हिंड्न गाह्रो हुन्थ्यो। तर, साउनको अन्तिमसातायता जोगवनी सुनसान छ।
“अहिले जोगवनीका व्यापारी झिंगा धपाएर बसेका छन्” जोगवनीका संचारकर्मी सुदीप यादव भन्छन्, “नेपाली नआउँदा जोगवनी बजार चल्दैन।”
६० वर्षअघि जोगवनीमा खुलेको हरियाणा फेन्सी स्टोरका संचालक मुनाल गोयल जोगवनीमा अहिले जस्तो मन्दी कहिल्यै नभएको बताउँछन्। भन्छन्, “लामो समयसम्म व्यापार ठप्प भएको यो पहिलो पटक हो।”
जोगवनीस्थित मीरा मेडिकल हलका चिकित्सक कमरुज मियाँ नेपाली खरीदकर्ता नआएकाले जोगवनीका व्यापारीले ऋण र व्याज तिर्न नसकेको बताउँछन्। “तीज, इद, जितिया पनि गयो, दशैं पनि गयो, जोगवनीको व्यापार शून्यमै रह्यो”, उनको चिन्ता छ।
सुनसरी र मोरङ जिल्लाका आधासरो बजार जोगवनीबाटै आएका सामानले चलेका छन्। जोगवनीमै सामान किन्ने र गाउँगाउँमा बेच्ने साना व्यवसायी पनि आन्दोलनबाट पीडित छन्। त्यसो त जोगवनीमा नेपालीले पनि व्यापार गर्छन्। त्यहाँका साना ठूला गरी ३०० जति पसलमा आधाजति कामदार नेपाली नै छन्।
-गोपाल गड्तौला, झापा/कमल रिमाल, विराटनगर