थप समाचारबुधबार, कार्तिक २५, २०७२
सीमा क्षेत्रका युवाको धन्दा, इन्धनको कालोबजारी
भारतीय नाकाबन्दीले नेपालमा इन्धन अभाव भइरहँदा कपिलबस्तुका दक्षिणी बजारमा भने तस्करीको इन्धन सहजै उपलब्ध छ ।
कपिलबस्तुका सीमावर्ती भारतीय बजार बढनी, नौगढ, शोहरतगढ, वर्डपुर लगायतका स्थानका पेट्रोल पम्पहरुबाट ल्याईएको पेट्रोल र डिजल तौलिहवा र आसपासका क्षेत्रमा सजिलै पाइन्छ तर, महंगो मूल्यमा ।
मर्जादपुर सीमा प्रहरी चौकी छेउमै ग्यालेन र बोत्तलमा पेट्रोलियम पदार्थ बेचिरहेका व्यवसायीले पेट्रोल १५० देखि १६० रुपैयाँ र डिजल १३० देखि १३५ रुपैयाँ मा बिक्री भइरहेको बताए । यही पेट्रोल जिल्ला सदरमुकाममा पुग्दा भने मुल्य रु २०० प्रति लिटर पुगेको छ
यसरी बिक्री भइरहेको इन्धन जिल्लाका लागि पर्याप्त भने होइन्, त्यसमाथि यस्तो इन्धनमा अत्यधिक मिसावट हुने गरेको उपभोक्ताहरु बताउँछन् ।
भारत र नेपाल दुवैतर्फका सीमा क्षेत्रमा बस्ने युवाहरु इन्धन बोकेर सीमाक्षेत्रमा दैनिक ओहोर–दोहोर गरिरहेका भेटिन्छन् ।
मुलुकमा इन्धनको चरम संकटका बेला केही गर्जो टार्ने भएकाले सुरक्षा निकाय र प्रशासनले पनि यस्तो तस्करीमा आँखा चिम्लिएको छ ।
प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम इन्धनको कालो बजारीबारे कुनै गुनासो नआएको र आफूले थाहा नपाएको बताउँछन् । “यदि कसैले यस्तो गरेको रहेछ भने कार्वाही हुन्छ,” उनले भने ।
गोपाल भण्डारी, कपिलबस्तु