समाचारबिहीबार, कार्तिक २६, २०७२

एमालेमा ३१८ जना प्रवेश, मधेसको जायज माग सम्बोधन हुन्छ: पोखरेल

हिमालखबर

नेकपा एमालेका स्थायी समिति सदस्य शङ्कर पोखरेलले आन्दोलनरत मधेसकेन्द्रित दलको जायज माग पूरा गर्न सकिने बताएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–३ थापा गाउँमा एमाले चाँगुनगर कमिटीले २५ कात्तिकमा आयोजना गरेको कार्यक्रममा नेता पोखरेलले जायज माग लिएर वार्तामा बस्न मधेसकेन्द्रित दललाई आग्रह गरे ।

कार्यक्रममा एमाले नेता महेश बस्नेतले नाकाबन्दीले भारत विश्वमाझ उदाङ्गिएको बताउँदै भारतबाट इन्धन आपूर्तिको विकल्प सरकारले खोज्ने तर ऊसँग नझुक्ने दृढता व्यक्त गरे ।

त्यस अवसरमा एमाओवादी छालिङ कमिटीका अध्यक्ष सुशील थापाको नेतृत्वमा ४० जना सङ्गठित सदस्य, राप्रपाका जिल्ला नेता देवेन्द्रजङ्ग थापाको नेतृत्वमा २०, नेपाली कांग्रेस छालिङ महिला सङ्गठनका अध्यक्ष अप्सरा कार्कीको नेतृत्वमा २३ र नेमकिपालगायत अन्य दलबाट १२५ गरी २०८ जना एमाले पार्टी प्रवेश गरेको एमाले चाँगुनगर कमिटीका संयोजक रमेश बुढाथोकीले बताए ।

त्यसैगरी चाँगुनगरपालिका वडा नं ७ मा झौखेलमा एमाले ७ देखि १७ नं वडा कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रममा पनि नेपाल मजदुर किसान पार्टीका झौखेल गाउँ कमिटी उपाध्यक्ष गणेशमान सुलुको नेतृत्व र एमाओवादी जिल्ला नेता गणेशमान थुया, सुशीला मल्ल, भरत मल्ललगायतको नेतृत्वमा ११० जना एमाले पार्टी प्रवेश गरेका छन् ।

अरु दल छाडेर एमाले प्रवेश गर्नेलाई एमाले सचिव गोकर्ण विष्टले टीका र माला लगाइदिएर पार्टी प्रवेश गराएका थिए ।

सो अवसरमा सांसद विष्टले नेपालीले भारतले गरेको नाकाबन्दीको दृढतापूर्वक सामना गरेको बताउँदै नेपाली जनताले भारतसमक्ष कुनै हालतमा आत्मसमर्पण गर्दैनन् भने । उनले राष्ट्रिय उत्पादन बढाएर आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै नाकाबन्दीले नेपालीलाई एकतामा बाँधेको बताएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>