समाचारशुक्रबार, कार्तिक २७, २०७२

मैथिल र भोजपुरी समुदायमा भरद्वितीया मनाइयो

हिमालखबर

मैथिल र भोजपुरी समाजमा दाजुभाइ–दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको भ्रातृ द्वितीया अर्थात् भरद्वितीया (भाइ पूजा) पर्व धार्मिक विधिअनुरूप हर्षोल्लासका साथ मनाइएको छ ।

दीर्घायु तथा सुख, समृद्धिको कामना गर्दै दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने चाड हो, भरद्वितीया ।

धर्म, संस्कृति र चाडबाडका दृष्टिले समृद्ध मैथिल र भोजपुरी समाजमा मनाइने अनेक पर्वहरूमध्ये यस पर्वमा दाजुभाइ–दिदीबहिनीबीचको पवित्र, स्नेही, आत्मीय र निःस्वार्थ सम्बन्धलाई उजागर गरेको छ ।

यस दिन मैथिल र भोजपुरी समाजको घर घरमा दिदीबहिनीले हर्षोल्लासका साथ आफ्ना दाजुभाइका लागि मीठो मीठो खानेकुराको परिकार बनाउने चलन छ ।

बिहान नुहाइधुवाइ गरी घरको आँगनमा पिठारको (चामलको पिठो) अर्पणा बनाई त्यसमाथि सिन्दूर र अबिरले सजाएर राखिएको ठाउँमा काठको पिर्कामाथि दाजुभाइलाई बसाएर उनको निधारमा टीका लगाई दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने गर्दछन् ।

पूजाका क्रममा दाजुभाइले दुवै हात अञ्जुली बनाएर बस्छन् । त्यसमा दिदीबहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिन्डोको फूल राखेर पवित्र जल हाल्दै धार्मिक विधिअनुरूप मन्त्रोच्चारणसहित दाजुभाइलाई तीनचोटी पूजा गर्छन् ।

पूजाका बेलामा दिदीबहिनीले यसरी मन्त्रोच्चारण गर्ने गर्छिन् –

यमुना नेओतैत छथि यम के,
हम नेओतैत छी भाइके,
हमर भाइ कुम्हरक फूल,
बजरी खाय बज्र भके जिवे,
जेना गङ्गा यमुना धार बढय,
तहिना हमर भाइके औरदा बढय ।

अर्थात्, जसरी यमुनाले आफ्नो भाइ यमराजलाई घर आउन निम्तो दिएछ, त्यसरी नै म पनि आफ्नो दाजुभाइलाई निम्तो दिएछु । मेरो दाजुभाइ कुभिन्डोको फूल जस्तै होस् (जो छिटो ओइलि“दैन), बजरी (एक प्रकारको कडा दाना) खाओस् र वज्र भएर बाँचोस् तथा जसरी गङ्गा यमुनाको धार निरन्तर बगिरहन्छ, त्यसरी नै मेरो दाजुभाइको आयु निरन्तर बढिरहोस् भन्ने हो ।

पूजा सम्पन्न भएपछि दाजुभाइले आफ्नो हैसियतअनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना, लत्ताकपडा अथवा रुपैया“ पैसा दक्षिणास्वरूप दिने प्रचलन छ ।
त्यसपछि दिदीबहिनीले पकाएका मीठा मिठा परिकार दाजुभाइले ग्रहण गर्छन् । दाजुभाइलाई खुवाएपछि मात्र दिदीबहिनीले पनि भोजन ग्रहण गर्छन् ।

पौराणिक कथाअनुसार, सत्ययुगमा बहिनी यमुनाले दाजु यमराजलाई आफ्नो घर आउन निम्ता गरिन् ।
आफ्नो घर आएको दाजु यमराजलाई पूजाआजा गरी विभित्र प्रकारका मीठा मीठा खानेकुरा खुवाएर बहिनी यमुनाले खुब सम्मान र सत्कार गरिन् ।
बहिनीको सम्मान र सत्कारबाट खुसी भई यमराजले बहिनी यमुनालाई वरदान माग्न भने ।
बहिनीको इच्छाअनुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाइले परस्परमा पूजाआजा गरी इच्छा सिद्धि गर्न पाउन् भनी यमराजले वरदान दिएकाले त्यसैबेलादेखि कात्तिक शुक्ल द्वितीयाका दिन भ्रातृ द्वितीया गर्ने परम्परा बसेको धार्मिक विश्वास छ ।

यमुनाले दाजु यमराजलाई भोजन गराएर यसै द्वितीयाका दिन वरदान प्राप्त गरेकीले यस पर्वलाई यमद्वितीया पनि भनिने गरिन्छ ।
भ्रातृ द्वितीया दाजुभाइ–दिदीबहिनीका लागि विशेष उत्सवको दिन हो । घरबाट टाढिएर बसेका दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीय र स्नेही सम्बन्ध कायम राख्न भ्रातृ द्वितीयाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>