समाचारशुक्रबार, कार्तिक २७, २०७२
मधेशकेन्द्रित दलसँग चाँडै सहमतिको संभावनाः दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेशकेन्द्रित दलका नेताहरुसँग आफू केही दिनदेखि निरन्तर सम्पर्कमा रहेको र केही दिनमै सहमति हुन सक्ने संभावना बढेको बताएका छन् ।
२७ कात्तिकमा देउसी–भैलो खेल्न पुगेको रिपोर्टर्स क्लबको टोलीसँग कुरा गर्दै दाहालले मधेशको आन्दोलनलाई अब बढी तन्कन दिन नहुने भन्दै मधेशकेन्द्रित दल र अन्य दलका नेताहरुसँग आफूले गम्भीर छलफल गरिरहेको बताए ।
उनले भने, “उनीहरुका अधिकतम मागलाई संवोधन गर्न हामी लागि परेका छौ, त्यसमा केही सकारात्मक संकेत देखिएका छन् ।”
उनले निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी मधेशकेन्द्रित दलहरुको माग संविधान संशोधन गरेर चाँडै पूरा गर्ने र सीमाङ्कनका लागि राजनीतिक संयन्त्र बनाएर सहमति गर्दै संवैधानिक प्रक्रियाबाट पूरा गर्ने बताए ।
दाहालले भने, “संविधान संशोधनका दुईवटा विषय तुरुन्तै संशोधन गरिदिने र सिमांकनसँग सम्बन्धित विषय एउटा राजनीतिक संयन्त्र मार्फत सहमति बनाएर संविधानको प्रक्रियाबाट जाने भनेर समझदारी गर्ने सम्भावना बढेको छ ।”
उनले नाकाबन्दीका बेला नेपाली जनताले राष्ट्रको पक्षमा स्वाभिमान र आत्मसम्मानको पक्षमा धैर्यता देखाएको गौरवपूर्ण क्षण भएको बताए ।
आजै विहान भारतीय राजदूतसँग छलफल भएको जानकारी दिंदै दाहालले भने, “भारतले पनि ‘रियलाईज’ गर्ने हदसम्म ‘रियलाइज’ गर्ने र हामीले पनि समस्या समाधानको निम्ति आवश्यक पहल गर्ने भन्ने तिर हामी लागेका छौ ।”
उनले मधेशको समस्या नेपालीले समाधान गर्ने भन्दै समस्या नभएका सीमानाकामा इन्धन नरोक्न आग्रह गरेको बताए ।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिंदै दाहालले अहिले सरकार फेर्ने आफ्नो प्राथमिकता नभएको बताए ।
“अहिले एमाले विरुद्ध जाने, सरकार बदल्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कल्पना पनि गरेका छैनौं, ” उनले भने ।
कांग्रेस सरकारमा नआए पनि राष्ट्रिय मुद्दामा, संशोधन प्रस्तावमा र राष्ट्रिय संकटको सामनाका लागि सबै दल मिलेर अघि बढने समझदारी भने भएको उनले बताए ।
महाधिवेशनपछि नेपाली कांग्रेस सरकारमा आउन सक्ने दाहालले बताएका थिए ।
कपिल भट्ट