समाचारशुक्रबार, कार्तिक २७, २०७२
मधेशी मोर्चाद्वारा ट्रकहरुमा तोडफोड र आगजनी, चिनी लुटियो
वीरगन्ज कलैया सडकखण्डको गण्डक बहुअरी चोकमा २७ कात्तिक साँझ मधेशी मोर्चाका कार्यकर्ताले एउटा ट्रकमा आगजनी गर्नुका साथै ५ वटा ट्रक तोडफोड गरेका छन् ।
बाराको प्रसौनीस्थित रिलायन्स सुगर मिलको गोदामबाट चिनी लोड गरेर वीरगन्ज तर्फ आउँदै गरेको ट्रकमा आन्दोलनकारीहरुले गण्डक बहुअरी चोकमा आगजनी र तोडफोड गरेका हुन् ।
उनीहरुले ना ४ ख ३५८४ नम्बरको ट्रकमा आगजनी गरेका छन् भने अन्य गाडीहरुमा ढुङ्गा हानेर तोडफोड गरेका छन् ।
आगजनी गरिएको ट्रकको अगाडिको भाग जलेर नष्ट भएको छ । तोडफोड गरिएका ट्रकहरुमा भने सामान्य क्षति पुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
मोर्चाका कार्यकर्तालाई भगाउन प्रहरीले ८ राउण्ड हवाई फायर र केहि सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । ट्रकमा आगजनी र तोडफोड हुँदै गर्दा ती ट्रकहरुमा रहेका चिनीको बोरा लुटिएका छन् ।
तीन वटा ट्रकको चिनी स्थानीयले लुटेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
तर कति परिमाणको चिनी लुटिएको भन्ने बारे एकिन तथ्याङ्क आईनसकेको बाराका प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्लले बताए ।
उनले भने “आन्दोलनकारीहरुले चिनी बोकेका ट्रकमा आगजनी र लुटपाट गर्न खोजेको थिए । प्रहरी तत्काल पुगेर स्थिति नियन्त्रणमा लियो ।”
ट्रकहरु सुरक्षित स्थानमा पुर्याईसकेको बताउँदै उनले चिनी कति लुटियो भन्ने बारे जानकारी लिने काम भैरहेको बताए ।
यसअघि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगन्ज सुख्खा बन्दरगाहा ड्राइपोर्ट अगाडि २७ कात्तिक दिउँसो दुई वटा ट्रकमा आगजनी गरेका छन् ।
सामान लोड गर्नका लागि ड्राइपोर्ट भित्र प्रवेश गर्न लागेका ना २ ख ८२२ र ना २ ख ३३३८ नम्बरको ट्रकमा मोर्चाका कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
यस्तै वीरगन्जको आदर्शनगरमा २७ कात्तिक बिहानै मोर्चाका कार्यकर्ताहरुले ना ४ ख ११६९ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेका थिए ।
वीरगन्जको आदर्शनगर स्थित ठाकुरराम बहुमुखी क्याम्पस अगाडिको सडकमा कार्टुन लोडेड ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट कार्टुन सहितको ट्रक पूर्ण रुपमा जलेर ध्वस्त भएको छ ।
यस्तै वीरगन्ज पथलैया सडकखण्डको परवानीपुर स्थित हिमाल आइरन उद्योग अगाडि २७ कात्तिक बिहान मधेसी मोर्चाका कार्यकर्ताहरुले ना १ ज ३४३५ नम्बरको टाटासुमोमा तोडफोड गरेका छन् ।
वीरगन्जबाट सिमरा तर्फ जाँदै गरेको खाली टाटासुमोमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । तोडफोडबाट टाटासुमोको सबै सिसा फुटेको छ ।
यस्तै परवानीपुरमा दिउँसो मोर्चाका कार्यकर्ताहरुले तीन वटा गाडीमा तोडफोड गरेका थिए । जीतपुरबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना १ च ८९०८ नम्बरको बोलेरो र दुई वटा भ्यानमा आन्दोलनकारीहरुले ढुङ्गा प्रहार गरेका हुन् ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
