समाचारशनिबार, कार्तिक २८, २०७२

पेरिसमा आतंकवादी आक्रमण, कम्तिमा १२० को मृत्यु

हिमालखबर

parisफ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी आक्रमणमा कम्तिमा पनि १२० जनाको मृत्यु भएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

फ्रान्सेली सञ्चारमाध्यमहरुका अनुसार पेरिसको ब्याटाकलां कन्सर्ट हल, त्यस नजिकैको कम्बोज रेष्टुरेन्ट अगाडि र नेशनल स्टेडियम नजिकै गरी तीन ठाउँमा आत्मघाती विष्फोटका साथै बन्दुक आक्रमणबाट कम्तिमा पनि १२० जनाको ज्यान गएको हो ।

स्थानीय समय अनुसार राति ९ बजे भएको आक्रमणबाट ब्याटाकलांमा आयोजित सांगीतिक कार्यक्रम हेरिरहेकाहरुमाथि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १०० जनाको मृत्यु भएको हो ।

त्यसअघि ब्याटाकलां नजिकैको रेष्टुराँ पेटाइट कम्बोज अगाडि कम्तिमा १० जनाको गोली हानी हत्या गरिएको थियो ।

ब्याटाकलांमा बन्दुकधारीले केही फ्रान्सेली नागरिकलाई बन्धक बनाएका थिए । पछि प्रहरीले त्यहाँ कार्वाही गर्दा उनीहरु आत्मघाती विष्फोटमा मारिएको बीबीसीले उल्लेख गरेको छ ।

तेस्रो आक्रमण पेरिसको नेशनल स्टेडियमसँगैको एउटा बार नजिक भएको बताइएको छ । जहाँबाट तीनवटा ठूला विष्फोटका आवाज सुनिएका थिए ।

त्यसबेला स्टेडियममा फ्रान्स र जर्मनीबीच फुटबल प्रतियोगिता भइरहेको थियो । स्टेडियम बाहिर तीन जना मारिएको बीबीसीले जनाएको छ । त्यहाँ आत्मघाती विष्फोट गराइएको थियो ।

फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्दले पनि त्यही स्टेडियममै खेल हेरिरहेका थिए, उनलाई सुरक्षाकर्मीले सुरक्षित निकालेका छन् ।

घटनापछि राष्ट्रपति ओलान्दले देशमा संकटकालको घोषणा गरेका छन् । फ्रान्सेली सीमा नाकाहरु सील गरिएको छ । पेरिसका नागरिकलाई घरभित्रै रहन निर्देशन दिइएको छ । प्रहरीको मद्दतका लागि सेनालाई अलर्ट राखिएको छ ।

उक्त घटनाको जिम्मेवारी कसैले नलिए आतंकवादी संगठन इस्लामिक स्टेटका समर्थकहरुले सोशल मिडियामा आक्रमणको प्रशंसा गरेका छन् ।

हालसम्म प्राप्त विवरण अनुसार दुई ठाउँमा बन्दुक आक्रमण भएको छ भने अर्को एक ठाउँमा बम विष्फोट गराइएको छ ।

आक्रमण सिरियालाई केन्द्र बनाएर अन्य देशहरुमा पनि आफ्ना आतंकवादी क्रियाकलाप विस्तार गरिरहेको आतंकारी संगठन इस्लामिक स्टेट (आइएस) ले गरेको हुनसक्ने अनुमान गरिएको छ ।

आइएसविरुद्धको कारवाहीमा फ्रान्स पनि सहभागी रहेको र यसअघि पनि आइएसले फ्रान्समा आतंकवादी गतिविधि गरेकाले यो अनुमान गरिएको हो ।

आइएसले एक वर्षअघि फ्रान्सेली पत्रिका शार्ली हेब्दोको कार्यालयमा आक्रमण गरेर १२ जना पत्रकारको हत्या गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>