समाचारशनिबार, कार्तिक २८, २०७२
समस्या समाधान गर्न भट्टराईले दाहाललाई आग्रह गरे
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका अभियन्ताले मुलुकमा जारी समस्याको समाधान गर्न आग्रह गरेका छन् ।
दाहाल निवास लाजिम्पाटमा २८ कात्तिक बिहान भएको भेटमा तीन महिनादेखि तराई–मधेसमा जारी आन्दोलन र दुई महिनादेखिको भारतको अघोषित नाकाबन्दीका कारण अस्तव्यस्त बनेको जनजीवन र अर्थतन्त्रलाई सार्थक निकास दिनआन्दोलनकारीका जायज माग पूरा गर्न आग्रह गरिएको बाबुराम भट्टराईको सचिवालयले जनाएको छ ।
नाकाबन्दी र जारी आन्दोलनबाट सिर्जित समस्यालाई सकारात्मकरुपमा समाधान गर्न नागरिक अगुवाले विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको सुरुवात गरेको सहभागीले जनाएका छन् ।
उनीहरुले सरकार, आन्दोलनकारी र आवश्यक परेमा अन्तर्राष्ट्रिय पक्षसँग पनि भेटघाट तथा छलफल गरी वातावरण सहज बनाउन सकारात्मक पहलका निम्ति अभियान चलाउने सचिवालयले उल्लेख गरेको छ ।
उक्त अभियानमा डा देवेन्द्रराज पाण्डे, डा पीताम्बर शर्मा, सीके लाल, कृष्ण हाछेंथु सहभागी छन् । । रासस