समाचारशनिबार, कार्तिक २८, २०७२
कांग्रेस–मोर्चा छलफलः पहिला सीमाकंन, त्यसपछि अरु
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सीमाकंनको मुद्दालाई हल नगरिकन अन्य बिषयमा सहमति गर्न नसकिने बताएको छ ।
२८ कात्तिकमा नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको कांग्रेस र मोर्चाबीचको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै मोर्चाका संयोजक उपेन्द्र यादवले सीमाकंनको बिषय नटुंग्याईकन अगाडि जान नसकिने बताए ।
प्रमुख प्रतिपक्षी कांग्रेसले संविधान संशोधनका लागि दर्ता गराएको प्रस्ताव पारित गराउने कोशिसस्वरुप आयोजना गरेको छलफलमा मोर्चाका नेताहरुले सीमाकंनमा परिवर्तन नभएसम्म अन्य विषयमा प्रवेश नगर्ने अडान राखेको हो ।
छलफलमा आवश्यकतालाई अनुसार संविधानमा परिवर्तन गर्दै अगाडि बढ्ने कुरा त भयो तर, सीमांकनलाई नटुंग्याइकनै समस्या हल हँुदैन भन्ने कुरा यकिन भयो, यादवले भने ।
मधेशका मुद्दालाई सम्बोधन गराउनका लागि कांगे्रस अगाडि बढ्यो भने काँग्रेससँग संसदमा सँगै जाने स्थिति आउने यादवले बताए ।
मोर्चाले सीमाकंन आफ्नो बटमलाईन बताए पनि प्रमुख प्रतिपक्षी काँगे्रस सबैभन्दा पहिला सत्तापक्ष र विपक्षमा रहेका दलहरुलाई जुटाएर संविधान संशोधनका दुईवटा प्रस्तावलाई पारित गर्ने र सीमाकंनको बिषयलाई राजनीतिक सहमतिको आधारमा संवैधानिक प्रक्रियाबाट हल गर्ने मनस्थितिमा रहेको छ ।
छलफलमा सहभागी कांग्रेस नेता महेश आचार्यले भने, “संशोधनका परिपक्व दुईवटा बिषयलाई विपक्षमा रहेका दल र सत्तारुढदलहरुको आवश्यक समर्थन जुटाएर अगाडि बढाउँ, यसले एक किसिमको सकारात्मक वातावरण सिर्जना गर्छ, सीमाकंनको बिषय प्राविधिक पनि भएको हुँदा अन्ततः संशोधनकै माध्यमबाट जानुपर्ने भएकोले राजनीतिक सहमतिको आधारमा संवैधानिक प्रक्रियाबाट छिनोफानो गरौ ।”
सीमाकंन प्राविधिक बिषय भनेर पन्छ्याउने पक्षमा आफूहरु नरहेका बताउँदै आचार्यले यो राजनीतिक समझदारीको पनि बिषय भएकोले छलफलबाट समाधान खोज्नुपर्ने बताए ।
कपिल भट्ट, काठमाडौं